काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयकी साथी जर्जिना रोड्रिगेजले अन्ततः विवाह गरेका छन् ।
करिब एक दशकदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले मंगलबार एक निजी समारोहमा विवाह गरेका हुन् ।
विवाह समारोह पोर्चुगलको राजधानी लिस्बन नजिकै रहेको तटीय सहर कास्काइसमा सम्पन्न भएको थियो । कार्यक्रममा दम्पतीका पाँचै सन्तानको उपस्थिति रहेको थियो ।
विवाहपछि रोनाल्डो र जर्जिनाले आफ्ना इन्स्टाग्राम खातामार्फत विवाहको औंठी लगाएको तस्वीर सार्वजनिक गर्दै खुसी साटेका छन् ।
३२ वर्षीया जर्जिना रोड्रिगेज स्पेनी मोडल तथा नृत्यांगना हुन् । उनी रोनाल्डोका पाँच सन्तानकी आमा पनि हुन् । परिवारमा रोनाल्डोको अघिल्लो सम्बन्धबाट जन्मिएका क्रिस्टियानो जुनियर (१६ वर्ष), जुम्ल्याहा सन्तान इभा मारिया र माटेओ, साथै अलाना र बेला छन् ।
हाल इन्स्टाग्राममा ७ करोड ७० लाखभन्दा बढी (७७ मिलियन) फलोअर रहेकी जर्जिनाको जीवन भने निकै सामान्य परिवेशबाट सुरु भएको थियो ।
ग्रेसिया (Grazia) पत्रिकाका अनुसार उनी स्पेनको जाका सहरमा हुर्किएकी हुन् । उनकी आमा स्पेनी र बुबा अर्जेन्टिनी हुन् । उनकी एक बहिनी इभाना पनि छिन् ।
जर्जिना विश्वव्यापी चर्चित मोडल बन्नुअघि सामान्य जीवन बिताउँथिन् । उनी खुद्रा पसल (रिटेल स्टोर)मा कर्मचारीका रूपमा काम गर्थिन् । त्यसपछि रोनाल्डोसँगको भेट र सम्बन्धले उनको जीवनमा नयाँ मोड ल्यायो । अहिले उनी फेसन, मनोरञ्जन र सामाजिक सञ्जालको प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छिन् ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डो पाँच पटकका फिफा विश्व वर्ष खेलाडी (World Player of the Year) हुन् । उनी विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक मानिन्छन् ।
हालै उनले पोर्चुगलका लागि आफ्नो कीर्तिमानी छैटौं फिफा विश्वकप खेलेका छन्, जसले उनको अन्तर्राष्ट्रिय करियरलाई थप ऐतिहासिक बनाएको छ ।

प्रतिक्रिया