काठमाडौं । जापानकी प्रधानमन्त्री ताकाइचीले विवादित कुरिल टापुको पहिलो भ्रमण गरेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भएको बताएकी छन् ।
रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार कुरिल द्वीपसमूहअन्तर्गत पर्ने इटुरुप (जापानमा एटोरोफु) टापुको भ्रमण गरेका थिए । उक्त टापु जापान र रुस दुवैले आफ्नो दाबी गर्दै आएका चार विवादित टापुमध्ये एक हो ।
प्रधानमन्त्री ताकाइचीले पत्रकारहरूसँग कुरा गर्दै पुटिनको भ्रमणले ‘रुसप्रति जापानी जनताको धारणा झन् नकारात्मक बनाएको’ बताइन् । उनले कुरिल द्वीपसमूह ‘ऐतिहासिक तथा अन्तर्राष्ट्रिय कानुनअनुसार जापानकै अभिन्न भूभाग’ भएको दाबी दोहोर्याइन् ।
जापान र रुसबीच कुरिल टापु विवाद दशकौँदेखि कायम छ । यही विवादका कारण दोस्रो विश्वयुद्ध समाप्त भएको यति लामो समय बितिसक्दा पनि दुवै देशबीच औपचारिक शान्ति सन्धि हुन सकेको छैन ।
कुरिल द्वीपसमूह जापानको उत्तरी टापु होक्काइडो र रुसको काम्चाट्का प्रायद्वीपबीच अवस्थित छ । दक्षिणी चारवटा टापुमाथि जापानले दाबी गर्दै आएको छ र तिनलाई ‘उत्तरी क्षेत्र’ (Northern Territories) भनेर चिनाउँछ ।
यद्यपि ती टापुहरू अहिले रुसको प्रशासनिक नियन्त्रणमा छन् । दोस्रो विश्वयुद्धको अन्त्यमा तत्कालीन सोभियत संघले उक्त द्वीपसमूह आफ्नो नियन्त्रणमा लिएपछि करिब १७ हजार जापानी बासिन्दालाई त्यहाँबाट विस्थापित गरेको थियो ।
रुसी सञ्चारमाध्यमका अनुसार भ्रमणका क्रममा राष्ट्रपति पुटिनले स्थानीय बासिन्दासँग भेटघाट गर्नुका साथै माछाको अण्डा (फिस रो) को स्वाद पनि लिएका थिए ।
यसअघि बिहीबार नै जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले पनि पुटिनको भ्रमणको कडा विरोध गर्दै ‘यी टापुहरू ऐतिहासिक र अन्तर्राष्ट्रिय कानुन दुवैका आधारमा जापानकै भूभाग हुन्, त्यसैले यो भ्रमणप्रति जापान सरकार कडा विरोध जनाउँछ’ भनेका थिए ।
विगतका वर्षहरूमा सीमा विवाद समाधानका लागि भएका प्रयासले उल्लेखनीय सफलता हासिल गर्न सकेका छैनन् । सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेपछि जापानले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएसँगै दुई देशबीचको सम्बन्ध झन् चिसिएको छ ।
यसअघि पनि जापानले तत्कालीन रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन र पूर्वप्रधानमन्त्री दिमित्री मेदभेदेभ लगायत रुसी उच्च अधिकारीहरूको विवादित टापु भ्रमणप्रति विरोध जनाउँदै आएको थियो ।
कुरिल द्वीपसमूह रुसका लागि रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण क्षेत्र मानिन्छ । पछिल्लो एक दशकमा रुसले त्यहाँ आफ्नो सैन्य उपस्थिति उल्लेख्य रूपमा बढाएको छ ।
विशेषगरी इटुरुप टापुलाई रुसले उक्त क्षेत्रमा आफ्नो प्रमुख सैन्य हवाई अड्डाका रूपमा प्रयोग गर्दै आएको छ ।
गत महिना चीन र रुसका नौसैनिक युद्धपोतहरूले संयुक्त गस्तीका क्रममा कुरिल द्वीपसमूहमध्येको जलडमरूमध्य पार गरेका थिए । साथै, रुसले यस क्षेत्र नजिक नियमित रूपमा सैन्य अभ्यास गर्दै आएको छ, जसको जापानले निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया