एनपीएल : स्ट्रिमिङ, टिकटिङ र प्रसारण अधिकार बिक्रीका लागि क्यानले गर्‍यो बोलपत्र आह्वान

एनपीएल : स्ट्रिमिङ, टिकटिङ र प्रसारण अधिकार बिक्रीका लागि क्यानले गर्‍यो बोलपत्र आह्वान


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का लागि स्ट्रिमिङ, टिकट बिक्री तथा टेलिभिजन प्रसारण अधिकार बिक्री गर्न बोलपत्र आह्वान गरेको छ।

क्यानले शुक्रबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट तीन छुट्टाछुट्टै अधिकार बिक्री गर्न इच्छुक योग्य कम्पनी तथा संस्थाबाट सिलबन्दी बोलपत्र मागेको हो।

क्यानका अनुसार एनपीएल २०२६ को भारत बाहेक विश्वभरका क्षेत्रमा ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण (स्ट्रिमिङ) गर्ने विशेष अधिकार, टिकट बिक्रीको विशेष अधिकार र नेपालभित्र टेलिभिजनमार्फत प्रसारण गर्ने अधिकार बिक्री गरिनेछ।

तीनवटै अधिकारका लागि छुट्टाछुट्टै ठेक्का नम्बरसमेत तोकिएको छ।

बोलपत्रसम्बन्धी कागजात क्यानको मूलपानीस्थित कार्यालयबाट योग्य बोलपत्रदाताले लिखित निवेदन तथा कम्पनी/फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बुझाएर खरिद गर्न सक्नेछन्। कागजातका लागि गैरफिर्ता हुने १० हजार रुपैयाँ शुल्क तोकिएको छ। बोलपत्रसम्बन्धी कागजात आगामी सेप्टेम्बर ३, २०२६ सम्म कार्यालय समयभित्र खरिद गर्न सकिने क्यानले जनाएको छ।

सिलबन्दी बोलपत्र भने सेप्टेम्बर ४, २०२६ दिउँसो १२ बजेसम्म क्यानको मूलपानीस्थित कार्यालयमा स्वयं उपस्थित भएर वा कुरियरमार्फत बुझाउनुपर्नेछ। तोकिएको समयपछि प्राप्त हुने बोलपत्र स्वीकार नगरिने सूचनामा उल्लेख छ।