काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच शुक्रबार भेटवार्ता भएको छ।प्रधानमन्त्री शाहलाई भेट्न प्रधानसेनापति सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन्। भेटवार्ता केही समयअघि सुरु भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानसेनापति सिग्देल र प्रधानमन्त्री शाहबीच भेटघाट भइरहेको पुष्टि गरे पनि छलफलको विषयबारे जानकारी नभएको जनाएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि उक्त भेटवार्ताबारे आफू जानकार नरहेको बताएका छन्। रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीचको भेटलाई सेनाले नियमित भेटघाटका रूपमा लिएको जनाएको छ। यसअघि पनि साउन १९ गते प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको थियो।
त्यतिबेला गोकर्णमा नेपाली सेनाको संरक्षणमा रहेको नेपाल ट्रष्टको जग्गामा सैनिक अधिकारीको अटेर गर्दै प्रधानमन्त्रीकै दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजु पाण्डेको नेतृत्वमा डोजर चलाइएको विषयमा छलफल भएको बताइएको थियो। त्यस भेटमा प्रधानसेनापति सिग्देलले उक्त घटनाप्रति असन्तुष्टि जनाएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी थियो। प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटपछि सांसद पाण्डेले पनि विज्ञप्ति जारी गर्दै घटनाबारे स्पष्टीकरण दिएका थिए।

प्रतिक्रिया