काठमाडौं । नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटीले जापानको आइची–नागोयामा हुने २०औं एसियाली खेलकुदमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगितामा एसियाका ४५ राष्ट्र तथा क्षेत्रका खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता पाएका शिवाकोटीको एसियाली खेलकुदमा छनोटलाई नेपाली तेक्वान्दोको प्राविधिक क्षमताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ । उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यसमेत हुन् । संघको टेक्निकल डेलिगेट्स (टीडी) का रूपमा दुई कार्यकाल जिम्मेवारी सम्हालिसकेका उनले प्रतियोगिताको व्यवस्थापन तथा प्राविधिक स्तर उकास्न योगदान दिँदै आएका छन् ।
शिवाकोटीले सन् २०२३ जनवरी १२ देखि १५ सम्म संयुक्त अरब इमिरेट्सको दुबईमा भएको अन्तर्राष्ट्रिय ग्योरोगी रेफ्री कोर्स उत्तीर्ण गरेका थिए । त्यसपछि २०२४ सेप्टेम्बर १७ देखि २५ सम्म भएको अन्तर्राष्ट्रिय पुम्से रेफ्री कोर्स पनि उत्तीर्ण गर्दै उनले दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकका रूपमा मान्यता पाएका हुन् ।
उनले अस्ट्रेलिया, जापान, चीन, भियतनाम, मलेसिया, थाइल्यान्ड, श्रीलंका, बंगलादेश, भारत र मंगोलियालगायत देशमा भएका विभिन्न अन्तर्राष्ट्रिय तथा एसियाली तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
सन् २०२६ मा अस्ट्रेलियाको गोल्डकोस्टमा भएको डब्लूटी प्रेसिडेन्ट्स कप (जी–३) ओपन तेक्वान्दो प्रतियोगितामा पनि उनी निर्णायक थिए । त्यस्तै, मे २०२६ मा मंगोलियाको उलानबाटरमा भएको २७औं एसियन तेक्वान्दो च्याम्पियनसिप, नवौं एसियन पुम्से तेक्वान्दो च्याम्पियनसिप, ११औं एसियन पारा तेक्वान्दो च्याम्पियनसिप तथा आइची–नागोया एसियाली खेलकुदको छनोट प्रतियोगितामा पनि उनले निर्णायकको जिम्मेवारी सम्हालेका थिए ।
यसअघि सन् २०२५ डिसेम्बरमा दक्षिण कोरियाको सियोलस्थित कोरिया नेसनल स्पोर्ट्स एकेडेमीमा आयोजित एटीयू रेफ्री एजुकेसन कोर्समा पनि शिवाकोटी सहभागी भएका थिए । एसियाका ४० राष्ट्रका करिब १०० रेफ्री सहभागी उक्त प्रशिक्षणमा विश्व तेक्वान्दोले परिमार्जन गरेका नयाँ नियमबारे प्रशिक्षण दिइएको थियो । ती नियम २०२६ जुन १ देखि लागू भएका छन् ।
उनको प्राविधिक दक्षतालाई मूल्यांकन गर्दै एसियन तेक्वान्दो युनियन (एटीयू) ले शिवाकोटीलाई २०२६ का लागि टेक्निकल कमिटी सदस्यमा समेत नियुक्त गरेको छ । यसले नेपाली तेक्वान्दोका प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय पहुँच र विश्वसनीयता थप बढाएको छ ।
नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्यका रूपमा प्रशासनिक तथा प्राविधिक जिम्मेवारी सम्हाल्दै आएका शिवाकोटी नेपालमा निर्णायक विकासका गतिविधिमा पनि सक्रिय छन् । उनी राष्ट्रिय निर्णायकका लागि रिफ्रेसर कोर्स तथा प्राविधिक प्रशिक्षण सञ्चालनमा सहभागी हुँदै आएका छन् ।
अब आइची–नागोयामा हुने एसियाली खेलकुदमा नेपाली खेलाडीको प्रदर्शनसँगै नेपाली प्राविधिकको उपस्थितिले पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछ । प्रतियोगिताको तेक्वान्दो म्याटमा निष्पक्ष निर्णय गर्दै नेपालको प्रतिष्ठा थप उचाइमा पुर्याउने जिम्मेवारी शिवाकोटीको काँधमा हुनेछ ।

प्रतिक्रिया