काठमाडौं । भारतीय राज्य पश्चिम बंगालका पूर्वमन्त्री तथा विधानसभाका पूर्वउपाध्यक्ष आशिष बनर्जी आइतबार बिहान पार्टी कार्यालयमै मृत भेटिएका छन्। तृणमूल कांग्रेसका नेता बनर्जी पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीनिकट मानिन्थे। बीबीसी हिन्दीका अनुसार उनको निवासनजिकै रहेको पार्टी कार्यालयको कोठामा शव फेला परेको हो।
एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार बनर्जीको शव उनको कोठामा फेला परेको थियो। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोटसमेत फेला परेको छ। यद्यपि प्रहरीले त्यसमा के उल्लेख गरिएको थियो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन। शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। वीरभूम जिल्लाको रामपुरहाट निर्वाचन क्षेत्रबाट बनर्जीले सन् २००१ देखि लगातार पाँच कार्यकालसम्म विधानसभा निर्वाचन जितेका थिए। तर यस वर्ष भएको निर्वाचनमा उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए।
बनर्जीले ममता बनर्जी नेतृत्वको पश्चिम बंगाल सरकारमा स्कुल शिक्षा तथा कृषि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए। सन् २०२१ मा उनी पश्चिम बंगाल विधानसभाको उपाध्यक्ष बनेका थिए। राजनीतिमा प्रवेश गर्नुअघि बनर्जीले शिक्षण पेसामा काम गरेका थिए। बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेका उनले रामपुरहाट कलेजमा शिक्षकका रूपमा आफ्नो व्यावसायिक जीवन सुरु गरेका थिए। पछि उनी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए।
ममता बनर्जीसँगको निकट सम्बन्धका कारण उनी तृणमूल कांग्रेसभित्र प्रभावशाली नेताका रूपमा चिनिन्थे। उनको मृत्युको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया