काठमाडौं । बेलायतमा निर्मित ड्रोन रुसमाथिका आक्रमणमा प्रयोग भएको पुष्टि भएपछि मस्कोले बेलायतमाथि युक्रेन युद्ध चर्काउन खोजेको आरोप लगाएको छ ।
रुसले युक्रेनलाई ड्रोन उपलब्ध गराएको भन्दै बेलायतमाथि आक्रोश व्यक्त गर्दै ‘यसको मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ ।
बेलायतमा निर्मित ड्रोन रुसभित्रका विभिन्न सैन्य तथा औद्योगिक क्षेत्रमा भएका आक्रमणमा प्रयोग भएको पुष्टि भएपछि रुसले बेलायतले जानाजानी युक्रेन संकटलाई थप चर्काउने नीति लिएको आरोप लगाएको हो ।
बेलायतस्थित रुसी दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्रममा बेलायत रक्तरञ्जित अपराध र आतंकवादी हमलाको सहयोगी तथा सहअपराधीका रूपमा काम गरिरहेको छ ।”
दूतावासले बेलायतका गतिविधिको अनिवार्य रूपमा परिणाम आउने र त्यसको जवाफ बेलायतले दिनुपर्ने बताएको छ । रुसले द्वन्द्वमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ, उसले चुकाउनुपर्ने मूल्य पनि त्यति नै बढ्दै जाने चेतावनी दिएको छ ।
रुसको चेतावनीप्रति बेलायतको रक्षा मन्त्रालयले भने युक्रेनको पक्षमा आफू दृढतापूर्वक उभिएको जनाएको छ ।
रक्षा मन्त्रालयका प्रवक्ताले बीबीसीसँग भने, “बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिएको छ ।”
रुसलाई आफ्नो सरकार युक्रेनमा रुसी आक्रमणका साथै बेलायत र उसका सहयोगीविरुद्धको रुसी आक्रामकताविरुद्ध दृढतापूर्वक उभिने विषयमा कुनै भ्रम हुन नहुने उनले बताए ।
बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘गैरकानुनी आक्रमण’बाट आफ्नो रक्षा गर्न युक्रेनलाई आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि उनले बताए ।
बेलायतलाई रुसले यस्तो चेतावनी दिइरहेका बेला सोमबार रातिदेखि मंगलबारसम्म रुस र युक्रेनले एकअर्कामाथि ठूलो संख्यामा ड्रोन तथा अन्य हतियारबाट आक्रमण गरेका थिए ।
दुई छुट्टाछुट्टै बेलायती कम्पनीले निर्माण गरेका ड्रोनहरू रुसभित्र सैन्य तथा औद्योगिक क्षेत्रमा भएका आक्रमणमा प्रयोग हुँदै आएका छन् ।
यी ड्रोनमार्फत रिफाइनरी, गोदामलगायतका महत्वपूर्ण संरचनालाई लक्षित गरिएको बताइएको छ । तीमध्ये अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजका गोदामसमेत छन् ।
रुसमा अमेजनको समकक्ष मानिने वाइल्डबेरीजलाई युक्रेनले पटक–पटक निशाना बनाउँदै आएको छ । युक्रेनले वाइल्डबेरीजका १० ठूला लजिस्टिक केन्द्रमध्ये सातवटा ‘निष्क्रिय पारिएको’ दाबी गरेको छ ।
एक सैन्य स्रोतले बीबीसीसँग रुसमाथिका ती आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि गरेको छ । ती आक्रमणबाट रुसी अर्थतन्त्रमा ३५ अर्ब पाउन्डभन्दा बढीको क्षति पुगेको दाबी गरिएको छ ।
रुसले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेको थियो । अहिले रुसले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बेलायती प्रविधि तथा उपकरण प्रयोग भएका ड्रोनमार्फत रुसी भूभागमा आक्रमण गरिएको बताएकी छन् । उनका अनुसार रोस्तोभ क्षेत्रको कामेन्स्की जिल्लामा रहेको इन्धन भण्डारण केन्द्रसमेत त्यस्ता ड्रोनको निशानामा परेको थियो ।

प्रतिक्रिया