दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य र वन अधिकृत पक्राउ

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समिति सदस्य र वन अधिकृत पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली र उदयपुरबाट घुससहित दुई जनालाई पक्राउ गरेको छ।

अख्तियारका अनुसार कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरिएको हो।

तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले बमलाई धनगढी उपमहानगरपालिका–१ बाट नियन्त्रणमा लिएको हो।

उनलाई २०८३ भदौ ४ गते घुसको रकम दुई लाख रुपैयाँसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। विशेष अदालतको आदेशबाट भदौ ५ गते घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

त्यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालयका योजना शाखा प्रमुख वन अधिकृत (सातौँ तह) भुवन पौडेल पनि घुससहित पक्राउ परेका छन्।

सामुदायिक वन उपभोक्ता समितिको काठ लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पौडेललाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

पौडेललाई भदौ ४ गते डिभिजन वन कार्यालय, उदयपुरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ। विशेष अदालतको आदेशबाट भदौ ५ गते उनीविरुद्ध पनि घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।