मुद्दा हारेपछि ह्यारीसहित ७ जनाले डेली मेललाई ९५ लाख पाउन्ड तिर्नुपर्ने

मुद्दा हारेपछि ह्यारीसहित ७ जनाले डेली मेललाई ९५ लाख पाउन्ड तिर्नुपर्ने


काठमाडौं । बेलायती राजकुमार प्रिन्स ह्यारीसहित सात जना चर्चित व्यक्तिले गोपनीयता मुद्दामा पराजित भएपछि डेली मेलको प्रकाशकलाई प्रारम्भिक रूपमा ९५ लाख ४० हजार पाउन्ड तिर्नुपर्ने भएको छ ।

प्रिन्स ह्यारी, गायक सर एल्टन जोन र उनका पति डेभिड फर्निस, सर साइमन ह्युजेस, सेडी फ्रस्ट, अभिनेत्री लिज हर्ली र बारोनेस डोरेन लरेन्सले डेली मेलको प्रकाशक एसोसिएटेड न्युसपेपर लिमिटेड (एएनएल) विरुद्ध गैरकानुनी रूपमा सूचना संकलन गरेको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए ।

तर जुलाई ७ मा उच्च अदालतका न्यायाधीश निक्लिनले दाबी खारेज गर्दै वादीहरूले लगाएका आरोप प्रमाणित गर्न नसकेको फैसला गरेका थिए । एएनएलले भने सुरुदेखि नै गैरकानुनी गतिविधिमा संलग्न भएको आरोप अस्वीकार गर्दै आएको थियो ।

अदालतको फैसलापछि एएनएलले कानुनी खर्चका लागि ९९ लाख पाउन्डभन्दा बढीको अन्तरिम भुक्तानी मागेको थियो । तर वादी पक्षका कानुन व्यवसायीहरूले ७९ लाख पाउन्डभन्दा केही बढी मात्र भुक्तानी गर्नुपर्ने तर्क गरेका थिए । अन्ततः न्यायाधीश निक्लिनले सातै जनालाई अगस्ट २८ सम्ममा ९५ लाख ४० हजार पाउन्डको प्रारम्भिक रकम बुझाउन आदेश दिएका हुन् ।

मुद्दाको सुनुवाइका क्रममा प्रिन्स ह्यारीसहित वादी पक्षका कैयौँ व्यक्तिले अदालतमा बयान दिएका थिए । ह्यारी अमेरिकाबाट बेलायत पुगेर आफैं अदालतमा उपस्थित भएका थिए । एएनएलका वर्तमान तथा पूर्व पत्रकार र कार्यकारीहरूले पनि अदालतमा बयान दिँदै गैरकानुनी गतिविधिको आरोप अस्वीकार गरेका थिए ।

फैसला आएपछि ह्यारी र अर्की वादी डोरेन लरेन्सले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू न्याय र जवाफदेहिता खोज्दै अदालत पुगे पनि दुवै प्राप्त नभएको बताएका थिए । उनीहरूले अदालतको निर्णयलाई ‘पूर्ण र स्पष्ट ढाकछोप’ भन्दै आलोचना गरेका थिए ।

उक्त मुद्दाको फैसला आएको केही दिनपछि ह्यारी र उनकी पत्नी मेघनले आफ्ना दुई सन्तान प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेटसहित बेलायत फर्किने योजना सार्वजनिक गरेका थिए । उनीहरूका सन्तानलाई सेप्टेम्बरदेखि बेलायतमा विद्यालय पठाउने तयारी गरिएको छ ।