सामाजिक सञ्जालमा बाबुरामविरुद्ध भ्रामक प्रचार, सचिवालयको आपत्ति

सामाजिक सञ्जालमा बाबुरामविरुद्ध भ्रामक प्रचार, सचिवालयको आपत्ति


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने प्रयास भइरहेको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ।

सचिवालयका अनुसार पुराना अभिव्यक्ति तथा भिडियो तोडमरोड गर्ने, भ्रामक तस्बिर र पोस्टर बनाउने तथा सामाजिक सञ्जालमार्फत धार्मिक घृणा फैलाउने प्रयास भइरहेको छ।

धर्मनिरपेक्षता कुनै धर्मविरोधी धारणा नभएको स्पष्ट पार्दै सचिवालयले राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नुपर्ने बताएको छ। विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अपनाउनु वा नास्तिक हुनु व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएको पनि उसको भनाइ छ।

हिन्दु धर्मभित्रका जातीय विभेद, छुवाछूत तथा सामाजिक असमानतामाथि प्रश्न उठाउनु वा सुधारका पक्षमा बहस गर्नु धार्मिक घृणा फैलाउनु नभएको सचिवालयले जनाएको छ।

भट्टराईका पुराना भनाइलाई सन्दर्भबाट अलग गरेर प्रस्तुत गरी धम्कीपूर्ण सामग्री फैलाउने र भ्रामक भाष्य निर्माण गर्ने गतिविधिले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा असर पार्न सक्ने चेतावनीसमेत दिइएको छ।

सचिवालयले यस्ता सामग्रीको पछाडि रहेका व्यक्ति तथा समूहका सामाजिक सञ्जाल खातामाथि निगरानी राखी अनुसन्धान गर्न र दोषी देखिए प्रचलित कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ।

साथै, सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीको पछि नलाग्न र धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सचिवालयले आम नागरिकलाई अपिल गरेको छ।