काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले आफ्ना एक छोराको हत्या गर्ने प्रयास गरेको दाबी गरेका छन् । तर, उनले घटना कहिले, कहाँ भएको थियो र कुन छोरालाई निशाना बनाइएको थियो भन्ने खुलाएका छैनन् ।
अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता अली खामेनीसहित उनका परिवारका चार सदस्यको ज्यान जाने गरी आक्रमण गरेपछि नेतान्याहुको यस्तो दाबी आएको हो ।
सरकारसमर्थक इजरायली सञ्चारमाध्यम च्यानल १४ लाई दिएको अन्तर्वार्तामा नेतान्याहुले इरानले आफ्ना एक छोरालाई निशाना बनाएर हत्या गर्ने प्रयास गरेको बताएका हुन् ।
उनले पूर्वसेनाप्रमुख तथा आगामी प्रधानमन्त्रीका लागि आफूलाई कडा चुनौती दिइरहेका गादी आइजेन्कोटलाई चौबीसै घण्टा सुरक्षा दिनुपर्ने पक्षमा समेत समर्थन जनाए । “त्यसबिना इरानीहरू सफल हुनेछन्,” उनले भने ।
नेतान्याहुका दुई छोरा र एक छोरी छन् । उनका दुवै छोरा र पत्नीलाई जुलाईमा इजरायली अधिकारीहरूले थप व्यक्तिगत सुरक्षा उपलब्ध गराएका थिए ।
यसैबीच, इरानले अली खामेनी र उनका परिवारका सदस्यको हत्याको बदला लिने चेतावनी दिँदै आएको छ ।
खामेनीका छोरा मोज्तबा खामेनीलाई उनका बुबाको मृत्युपछि एक सातामा नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको थियो । उनले बुबाको अन्त्येष्टि समारोहका अवसरमा प्रकाशित सन्देशमा “रगतको बदला” लिने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया