काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । साथै, विपद्को अवस्थालाई मध्यनजर गर्दै पार्टीका पूर्वनिर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा सांगठनिक गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टी सचिवालय बैठकले चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न निर्णय गरेको हो ।
रास्वपाले विपद् प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धारसँगै सुरक्षित बासस्थान, शुद्ध खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पार्टीले आफ्ना केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तहका समिति, सदस्य र शुभेच्छुकलाई स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहतमा सक्रिय रूपमा खटिन निर्देशन दिएको छ । यसका लागि र्याट (R.A.T.) परिचालन गर्ने र संयोजनको जिम्मेवारी पूर्वर्याट संयोजक आशिष थापालाई दिने निर्णय भएको छ ।
यस्तै, विपद्का बेला फैलिन सक्ने अफवाह र भ्रामक सूचनाप्रति सचेत रहन तथा सरकारी निकायबाट जारी आधिकारिक सूचनालाई मात्र आधार मान्न रास्वपाले आग्रह गरेको छ ।
बेपत्ता नागरिकको खोजी तथा उद्धार तीव्र पार्न, सम्भावित महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली परिचालन गर्न र प्रभावित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि ठोस योजना तत्काल अघि बढाउन पनि रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ ।
रास्वपाले विपद्को यस घडीमा सरकार, राजनीतिक दल, नागरिक समाज, अन्तर्राष्ट्रिय निकाय तथा सबै सरोकारवालासँग सहकार्य गर्दै प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया