काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला भारतले नेपालका लागि मानवीय सहायता पठाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा बाढीको उद्धार तथा राहतका लागि भारतले १० टन मानवीय सहायता सामग्री ९एचएडिआर० र अत्यावश्यक औषधि पठाएको जानकारी दिएका छन्। सामाजिक सञ्जालमार्फत जयशंकरले बाढीबाट प्रभावितप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन्।
उनले भारत नेपाल र नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै चुनौतीपूर्ण अवस्थामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच, भारतीय अभिनेता सोनु सूदले पनि नेपालमा आएको बाढीप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने बताएका छन्। सूदले सामाजिक सञ्जालमा नेपाल एक्लो नरहेको उल्लेख गर्दै बाढी प्रभावितका लागि खाना, आश्रय तथा पुनर्निर्माणमा सहयोग गर्ने बताएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित विभिन्न सरकारी तथा स्थानीय निकाय परिचालन भइरहेका छन्। सरकारका अनुसार हालसम्म बाढीबाट ९५ जनाको शव फेला परिसकेको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले क्षतिको विवरण अझै बढ्न सक्ने बताइएको छ।

प्रतिक्रिया