काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट ‘बझाङका बाघ’ले ‘रोड टु यूएफसी सिजन–५’ को फाइनलमा स्थान बनाउँदै नेपाली खेलकुदमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन् ।
चीनको सांघाईमा शुक्रबार भएको पुरुष बान्टमवेट सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई स्प्लिट डिसिजनका आधारमा पराजित गरेका हुन् ।
मर्डोकविरुद्धको जितसँगै ढाँट रोड टु यूएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बनेका छन् । प्रतियोगिताको फाइनल जित्न सके उनले यूएफसीमा स्थान बनाउने ढोका खोल्नेछन् ।
ढाँटले यसअघि गत मेमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए । उनी प्रतियोगितामा लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुगेका हुन् ।
‘बझाङका बाघ’का रूपमा चर्चित ढाँटको व्यावसायिक एमएमए रेकर्ड पनि प्रभावशाली छ । मर्डोकविरुद्धको खेलअघि उनको रेकर्ड १० जित र १ हार थियो भने मर्डोक ८–० को अपराजित रेकर्डसहित मैदानमा उत्रिएका थिए ।
रोड टु यूएफसी एसियाली एमएमए खेलाडीलाई यूएफसीमा प्रवेश गर्ने अवसर दिने प्रतियोगिता हो । प्रत्येक तौल समूहको विजेताले यूएफसीसँग सम्झौता गर्ने अवसर पाउँछन् ।

प्रतिक्रिया