काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि युरोपेली संघ (ईयू) ले २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ।
ईयूका अनुसार बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको र ठूलो संख्यामा समुदाय प्रभावित बनेको अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन सहायता घोषणा गरिएको हो। उक्त रकमबाट प्रभावित नागरिकका तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइ र आश्रय लगायतका क्षेत्रमा सहयोग गरिनेछ।
ईयूबाट आर्थिक सहयोग पाउने साझेदार संस्थाहरूले नेपालमा बाढी आएको लगत्तै राहत तथा सहयोगका काम सुरु गरिसकेका छन्। उनीहरूले पहिले नै भण्डारण गरिएका अस्थायी आश्रय सामग्री तथा अन्य राहत सामग्री प्रभावित क्षेत्रमा वितरण गरिरहेका छन्।
ईयूले नेपालमा यस वर्षको सुरुवातमै विपद् पूर्वतयारीका लागि करिब ३० लाख युरो मानवीय सहायता छुट्याएको थियो। नयाँ २० लाख युरोको आपत्कालीन सहायता उक्त सहयोगभन्दा अतिरिक्त भएको ईयूले जनाएको छ।
बाढीपछिको राहत तथा उद्धार प्रयासलाई थप प्रभावकारी बनाउन ईयूले एसियाका लागि आफ्नो ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने भएको छ। उनले नेपालमा ईयूको समग्र आपत्कालीन प्रतिक्रियाको समन्वयमा सहयोग गर्नेछन्।
यस्तै, प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा स्थानीय उद्धार र राहत कार्यलाई सहयोग पुर्याउन ईयूले कोपर्निकस स्याटेलाइट सेवा सक्रिय गरेको छ। उक्त सेवामार्फत बाढी तथा विपद्बाट प्रभावित क्षेत्रको नक्सा तयार गरी आवश्यक सूचनामा पहुँच सहज बनाइनेछ।
ईयूकी तयारी तथा संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले बाढीले सडक बगाएको, गाउँहरू सम्पर्कविहीन भएको र परिवारहरू बेपत्ता आफन्तको खोजीमा रहेको बताउँदै नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको उल्लेख गरेकी छन्।
उनले भनिन्, “ईयू नेपालका बाढी प्रभावित समुदायसँगै उभिएको छ। तत्काल आवश्यक स्वास्थ्य सेवा, खाद्यान्न, पानी र आश्रयका लागि २० लाख युरो उपलब्ध गराउँदैछ।”

प्रतिक्रिया