सुरुङभित्र फसेकाको उद्धारका लागि चिनियाँ टोली परिचालन

सुरुङभित्र फसेकाको उद्धारका लागि चिनियाँ टोली परिचालन


काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि ६ सदस्यीय चिनियाँ प्राविधिक टोली घटनास्थलमा खटिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको विज्ञ टोलीले नेपाली सेनाको प्राविधिक टोलीसँग समन्वय गर्दै सुरुङभित्र फसेकाहरूको उद्धारका लागि काम सुरु गरेको हो ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धारमा चिनियाँ विज्ञको विशेषज्ञता उपयोग गर्न नेपाल सरकारको अनुमतिमा टोली परिचालन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

घटनास्थल पुगेको संयुक्त टोलीले पहिलो चरणमा सुरुङभित्रको अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक अनुगमन गर्नेछ । त्यसको आधारमा उद्धारको थप रणनीति तय गरिनेछ ।

प्रारम्भिक प्राविधिक अनुगमनबाट उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ राखिएका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा बोलाउने तयारी गरिएको छ ।

प्रधानमन्त्री कार्यालयले सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहेको भए पनि नेपाली सेना र चिनियाँ विज्ञ टोलीबीचको संयुक्त प्रयासबाट फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न निरन्तर प्रयास भइरहेको जनाएको छ ।

सुरुङभित्रको वास्तविक अवस्था पत्ता लगाउने र त्यसअनुसार उद्धारको बाटो तय गर्ने कामलाई अहिले पहिलो प्राथमिकतामा राखिएको छ ।