कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने शशांकको घोषणा

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने शशांकको घोषणा


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले महाधिवेशनसम्बन्धी गतिविधि रोक्न आदेश नदिएपछि १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने भन्दै नेता डा. शशांक कोइरालाले महाधिवेशनको प्रक्रिया पुनः अघि बढाउने घोषणा गरेका छन् । उनले १५औँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्ने बताएका छन् ।

कोइरालाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कुनै पनि पक्षले पार्टीमा थप विवाद वा विभाजन सिर्जना हुने गतिविधि गर्न नहुने बताएका छन् ।

तर, एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अधिवेशनका गतिविधि अघि बढाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिइएको र अदालतबाट रोक आदेश नआएको उनले उल्लेख गरेका छन् । यही आधारमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन गर्नुपर्ने आफ्नो वैधानिक दायित्व रहेको कोइरालाको निष्कर्ष छ ।

कोइरालाले अब १५औँ अधिवेशन तथा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी प्रक्रिया पुनः प्रारम्भ गर्ने बताएका छन् । त्यसका लागि पूर्वनिर्धारित कार्यतालिकाअनुसार क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समिति गठनलगायतका काम अघि बढाउने उनले जानकारी दिएका छन् ।

त्यसपछि कांग्रेसका सबै तहमा अधिवेशन गरिने र अधिवेशन तथा महाधिवेशनको विस्तृत कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ ।

विशेष महाधिवेशनबाट गठित कार्यसमितिले गर्ने अधिवेशन तथा महाधिवेशनसम्बन्धी गतिविधिलाई भने कोइरालाले अस्वीकार गरेका छन् । उनले उक्त गतिविधिमा सहभागी नहुन र १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न पार्टीका पदाधिकारी, सदस्य, प्रतिनिधि, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।

कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षबीच विवाद चर्किँदै आएको छ । यसअघि पनि कोइराला पक्षले विशेष महाधिवेशनबाट आएको कार्यसमितिले महाधिवेशन गराउँदा पार्टीका सबै तहमा संरचनागत विभाजन सुरु हुने भन्दै त्यसमा सहभागी नहुन आग्रह गरेको थियो ।