चितवन। भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको बहाव अहिले चितवन आइपुग्दा घटेको छ । त्रिशूली नदी हुँदै बिहान ७ः०० बजे बाढी मुग्लिन कटेको थियो ।
बाढी पूर्वानुमान महाशाखाका ‘हाइड्रोलोजिष्ट’ सचित कर्मचार्यका अनुसार त्रिशूलीमा पानीको बहाव बाढी आउनुअघिको भन्दा तीनदेखि तीन दशमलव पाँच मिटर बढेको छ । आजको बाढी नारायणीमा मिसिएपछि दुईदेखि दुई दशमलव पाँच मिटर बहाव बढ्ने उहाँको अनुमान छ । नारायाणी नदीको देवघाटमापन केन्द्रमा बाढी आउनुपूर्वको बहाव छ मिटर रहेको र सो स्थानमा पानीको बहाव नौ मिटर पुगेपछि खतरोन्मुख हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
यद्यपि पहिलेको भन्दा नदीमा पानीको सतह बढ्ने भएकाले सतर्क रहन नदी तटीय क्षेत्रका बासिन्दालाई उहाँले आग्रह गर्नुभयो ।
यसैबीच पृथ्वीराजमार्गको कृष्णभीरमा सडक भासिएपछि सो राजमार्ग अवरुद्ध भएको चितवनका प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिनुभयो । सडक भासिएपछि चितवन तर्फबाट पृथ्वीराजमार्गतर्फ गुड्ने सवारीसाधनलाई सुरक्षित स्थानहरूमा रोकिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि भोटेकोशी नदीमा पुनः बाढी आएको खबर फैलिएसँगै बिहान ४ः०० बजेपछि रोकिएको सडक ७ः०० बजेदेखि खुलेकामा अहिले पुनः सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक भट्टले बताउनुभयो ।

प्रतिक्रिया