भारतीय उद्धार टोलीद्वारा चिलिमे र लाङटाङका सुरुङमा खोज तथा उद्धार

भारतीय उद्धार टोलीद्वारा चिलिमे र लाङटाङका सुरुङमा खोज तथा उद्धार


काठमाडौं । भारतबाट नेपाल आएको सुरुङ उद्धार टोलीले नेपाली सेनाको टोलीसँग समन्वय गरी रसुवाको चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ।

भारतीय पक्षका अनुसार टोलीले आज नेपाली सेनाको उद्धार टोलीसँग संयुक्त रूपमा चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत् सुरुङ स्थलमा खोज तथा उद्धारसम्बन्धी काम गरेको हो।

सुरुङभित्र फसेका तथा बेपत्ता व्यक्तिको खोजीका लागि परिचालित भारतीय टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा अभियान अघि बढाउने जनाएको छ।

यसअघि रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि नेपालले मित्रराष्ट्रबाट प्राविधिक तथा दक्ष उद्धार जनशक्ति सहयोग लिँदै आएको छ।

भारतीय टोलीले विशेष प्राविधिक उपकरण र उद्धारसम्बन्धी दक्षताको प्रयोग गर्दै नेपाली सेनासँग सहकार्यमा खोजी अभियानलाई निरन्तरता दिने जनाएको छ।

बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा सुरुङभित्रको अवस्था जोखिमपूर्ण रहेकाले उद्धार कार्यमा नेपाली सेना र विदेशी प्राविधिक टोलीबीचको समन्वयलाई महत्वपूर्ण मानिएको छ।