विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरू भएको छ । बैठकमा सुदन किराती समूहलाई भने प्रवेश निषेध गरिएको छ ।
पूर्वमन्त्री किराती समूहसँग पार्टी एकता भएको ४ महिनापछि पहिलोपटक बसेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन ।
किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य सहित १८ जना पार्टी एकतामा समावेश भए । एकताअघि श्रम संस्कृतिमा २३ केन्द्रीय सदस्य रहेकोमा एकतापछि ४१ सदस्यीय बनेको थियो । सुदन समूहका केही केन्द्रीय सदस्य समेत बैठक स्थलमा पुगेका थिए । तर, ‘तपाँइहरूसँग भोलि बैठक बस्ने’ भन्दै प्रवेश गर्न दिइएको छैन ।
बैठकमा नै पस्न नदिएको विषयले एकता नै प्रभावित हुने अवस्था सिर्जना भएको किराती निकट नेताहरूले बताएका छन् । सुदनले आफ्नो टीममा धरानमै छुट्टै रणनीतिक छलफलसमेत गर्दै छन् ।
श्रम संस्कृतिमा सामेल गराउँदै स्वयं हर्क साम्पाङले सुदनलाई कोशीको भावी मुख्यमन्त्रीको रूपमा प्रचार गरेका थिए । उनलाई वरिष्ठ नेताको भूमिकासमेत दिइएको थियो ।
एकतामा आउँदा किराँती पक्षबाट प्रकाश विकल्पलाई उपाध्यक्ष, टीकाराम राईलाई सचिवको जिम्मेवारी दिइएको थियो । त्यस्तै १५ जना केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।
सुदन समूहबाट केन्द्रीय कमिटीमा बी श्रेष्ठ भक्तपुर, दीपेन्द्र बान्तवा सङ्खुवासभा, पुरञ्जन राई काठमाडौँ, लालध्वज नेम्वाङ पाँचथर, हेमन्त राई भोजपुर, जनक गिरी उदयपुर, सालिक राई धरान, डा सङ्गम खैजु भक्तपुर, कनकाइष्ट राई खोटाङ, सरिता राई ललितपुर, राकेश किराँती, अमित राई ललितपुर, सारधा भट्टराई ओखलढुङ्गा र प्रमीला राई खोटाङ अटाएका थिए ।
कसरी भयो खटपट ?
पार्टी एकता भएको चार महिना नबित्दै देखिएको खटपट अध्यक्ष साम्पाङको कार्यशैली कारक रहेको बुझिएको छ । एक नेताका अनुसार विधि, पद्धतिभन्दा फेसबुकबाटै निर्णय सुनाउने शैलीले पार्टीले गति लिन नसकेको एक नेता बताउँछन् ।
गत फागुनको चुनावपछि समानुपातिक सांसद छनोटका विषयमा पनि पार्टीभित्र विवाद चर्किएको थियो । किराती समूहले समानुपातिक सांसद छनौटमा हस्तक्षेप गर्न खोजेको बुझाइसहित हर्क अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन चेतावनी दिएका थिए ।
पार्टीका एक केन्द्रीय सदस्य त्यसपछि साम्पाङ र किरातीबीच मनमुटाब सुरू भएको दाबी गर्छन् । तर, यस विषयमा किरातीले भने बोलेका छैनन् ।
साम्पाङले भने केही समयअघि किरातीले गुटबन्दी गरेको आरोप लगाएका थिए । सुदन किरातीसँग निर्णय लिने कुनै अधिकार नभएको उनको भनाइसमेत सार्वजनिक भएको थियो । उनले भनेका थिए, ‘पार्टीभित्र गुटबन्दी गरे वा दुई खेमा गरे, जसलाई पनि म निकालिदिन्छु ।’

प्रतिक्रिया