रसुवा बाढीमा पहिचान हुन नसकेका शवको डीएनए परीक्षणमा चीनले सघाउने

रसुवा बाढीमा पहिचान हुन नसकेका शवको डीएनए परीक्षणमा चीनले सघाउने


काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले सहयोग गर्ने भएको छ ।

चीनले डीएनए पहिचान विज्ञसहित परीक्षण उपकरण नेपाल पठाउने तयारी गरेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार नियमित पत्रकार सम्मेलनमा चीनले नेपाललाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन लागेको जानकारी दिएका हुन् ।

उनका अनुसार चीनले डीएनए पहिचान विज्ञसँगै डीएनए परीक्षण उपकरण, ड्रोन तथा जलशुद्धीकरण उपकरण समेत नेपाल पठाउने तयारी गरेको छ ।

गत हप्ताको बुधबार रसुवामा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानबाट ठूलो संख्यामा शव फेला परिरहेका छन् । लामो समय नदीमा डुबेका कारण कतिपय शवको अवस्था बिग्रिँदा प्रत्यक्ष रूपमा पहिचान गर्न कठिन भइरहेको छ ।

शवको पहिचानमा समस्या देखिएपछि परिवारका सदस्यबाट नमुना संकलन गरी डीएनए परीक्षणमार्फत पहिचान गर्ने प्रक्रिया प्रभावकारी विकल्प बनेको छ । यही अवस्थामा चीनबाट विज्ञ र आवश्यक उपकरणसहितको सहयोग आउन लागेको हो ।

बाढीपछि दिनहुँ नयाँ शव फेला पर्ने क्रम जारी छ । मंगलबारसम्म कम्तीमा १ हजार शव संकलन भइसकेको बताइएको छ । यस्तै, मंगलबार बिहानसम्म ३ हजार ९ सय १६ जना सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ ।

ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा शवको पहिचान तथा आफन्तलाई जिम्मा लगाउने कार्य थप चुनौतीपूर्ण बन्ने देखिएको छ ।