काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी–त्रिशूली बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनामा स्थानीय तह निष्क्रिय रहेको भन्ने बुझाइ गलत भएको बताएका छन्। उनले वडा, गाउँपालिका तथा नगरपालिकाले आफ्नो जिम्मेवारीअनुसार संघीय सरकारसँग समन्वय गरेर सक्रियतापूर्वक काम गरिरहेको दाबी गरेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछिको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री गुरूङले सबै तहका सरकारबीच समन्वयमै उद्धार तथा राहतका काम भइरहेको बताए।
‘स्थानीय पालिकाले संघीय सरकारसँग मिलेर काम गरेको छैन भन्ने लागेको होला। तर स्थानीय तहहरू हामीसँग सक्रिय रहेर नै काम गरिराख्नुभएको छ,’ उनले भने।
उनले नुवाकोटको विदुर नगरपालिकाका प्रमुख आफूहरूसँगै रहेर बाढी प्रभावित क्षेत्रमा काम गरिरहेको उदाहरण दिए। कतिपय स्थानीय जनप्रतिनिधि आफैं विपद्बाट प्रभावित भएको र केही वडाध्यक्षको अवस्थासमेत यकिन भइनसकेको उनले बताए।

प्रतिक्रिया