कांग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन तयारी समिति बैठक आज

कांग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन तयारी समिति बैठक आज


काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले गठन गरेको ‘१५ औं महाधिवेशन तयारी समिति’ को बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ।  समिति संयोजक पूर्वमहामन्त्री डा। शशांक कोइरालाको अध्यक्षतामा चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक हुनेछ। सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठकमा तीन मुख्य एजेन्डामाथि छलफल हुनेछ—समसामयिक राजनीतिक विषय, १५ औं महाधिवेशनको तयारी र विविध।

साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले पूर्वसभापति शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षले छुट्टै महाधिवेशन तयारी अघि बढाएको हो। भेलाले शशांक कोइरालालाई तयारी समितिको संयोजक तोकेको थियो।   गगन थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसबीच संस्थापन इतर समूहले पनि सोही मिति आसपास समानान्तर महाधिवेशन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्।

आजको बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा। शेखर कोइराला उपस्थित हुने वा नहुने यकिन भइसकेको छैन। यसअघि देउवा समूहले गरेको राष्ट्रिय भेलामा उनीहरू सहभागी थिए। गत पुसमा भएको विशेष महाधिवेशनमा भने देउवा र कोइराला पक्षका अधिकांश नेता सहभागी भएका थिएनन्।   मंगलबार नेता शेखर कोइरालाले विशालनगरस्थित सम्पर्क कार्यालयमा पार्टीभित्रका तीनवटै समूहका नेताहरूसँग छलफल गरेका थिए। पार्टीभित्र दुई समानान्तर महाधिवेशनको सम्भावना बढेका बेला आजको बैठक महत्वपूर्ण मानिएको छ।