नेपाल आइपुग्यो अत्याधुनिक उपकरणसहित दक्षिण कोरियाली उद्धार टोली

नेपाल आइपुग्यो अत्याधुनिक उपकरणसहित दक्षिण कोरियाली उद्धार टोली

नौ जना कोरियाली नागरिकको खोजी प्राथमिकतामा


काठमाडौं। गत साता रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि दक्षिण कोरियाबाट अत्याधुनिक उपकरणसहित दक्ष उद्धार टोली नेपाल आइपुगेको छ। बुधबार बिहानसम्म बाढीमा परी १ हजार ११४ जनाभन्दा बढीको शव फेला परिसकेको छ भने झण्डै ४ हजार जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ। सम्पर्कविहीन हुनेमा नौ जना दक्षिण कोरियाली नागरिकसमेत छन्। उनीहरूको खोजीमा विशेष सहयोग पुर्‍याउने उद्देश्यले समेत दक्षिण कोरियाले ४४ सदस्यीय कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) पठाएको हो।

दक्षिण कोरियाली वायुसेनाको केसी–३३० ‘सिग्नस’ मल्टिरोल एरियल ट्यांकर विमानमा आएको टोली बुधबार बिहान ६: २७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। टोलीको नेतृत्व दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयअन्तर्गत विकास सहयोगका महानिर्देशक ली क्यु–होले गरेका छन्। टोलीमा राष्ट्रिय अग्नि नियन्त्रक निकायका ३७ जना कर्मचारीसहित परराष्ट्र मन्त्रालय र कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) का अधिकारीहरू छन्।

टोलीले पाँचवटा खोज तथा उद्धार कुकुर, भग्नावशेषमा फसेका मानिस पत्ता लगाउन प्रयोग हुने उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियो डिटेक्टर र थर्मल इमेजिङ उपकरणलगायतका विशेष सामग्री ल्याएको छ। नेपाली अधिकारीहरूसँग समन्वय गरी टोलीले बाढी प्रभावित क्षेत्रमा खोजी अघि बढाउनेछ। बाढीपछि सम्पर्कविहीन रहेका नौ जना दक्षिण कोरियाली नागरिकको खोजी टोलीको प्राथमिकतामा रहनेछ। टोली करिब १० दिन नेपालमा रहने अपेक्षा गरिएको छ। अवस्था हेरेर अवधि थपिन सक्ने बताइएको छ। टोली प्रमुख लीका अनुसार नेपाली अधिकारीहरूसँग समन्वय गरेर मात्र उद्धार कार्य अघि बढाइनेछ। टोलीले अहिले दक्षिण कोरियाको र्‍यापिड रेस्पोन्स टिम तथा नेपालस्थित दक्षिण कोरियाली दूतावासका अधिकारीहरूसँग छलफल गरिरहेको छ। दिउँसो सम्भावित आधार शिविरको स्थान निरीक्षण गर्ने तयारी छ। नुवाकोटको बिदुरलाई कोरियाली उद्धार टोलीले सम्भावित ‘बेस स्टेसन’का रूपमा हेरेको छ। नौ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएको क्षेत्रको नजिक भएकाले बिदुरलाई आधार शिविरका लागि सम्भावित स्थानका रूपमा छनोट गर्ने तयारी छ।

केडीआरटीले आफ्नो खोजी तथा उद्धारलाई दक्षिण कोरियाली नागरिकमा मात्र सीमित नगर्ने स्पष्ट पारेको छ। नेपालीसहित अन्य देशका बेपत्ता नागरिकको खोजीमा समेत सहयोग गर्नेछ। दक्षिण कोरियाले यसअघि भदौ ११ र १३ गते गरी दुईवटा सरकारी र्‍यापिड रेस्पोन्स टिम (कुल २० जना) नेपाल पठाएको थियो। उनीहरूले हेलिकोप्टर, ड्रोन तथा स्थलमार्गबाट खोजी गरिरहेका छन्। तर अहिलेसम्म नौ जना बेपत्ता दक्षिण कोरियाली नागरिकको खोजीमा उल्लेखनीय सफलता हात परेको छैन।

र्‍यापिड रेस्पोन्स टिमको स्थल खोजी टोली अहिले रसुवाको धुन्चे पुगिसकेको छ। धुन्चे माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको माथिल्लो बाँधबाट करिब २ किलोमिटरको दूरीमा छ। बेपत्ता रहेका नौ जना दक्षिण कोरियाली नागरिक यही आयोजनामा कार्यरत थिए। यसअघि र्‍यापिड रेस्पोन्स टिमले विमान तथा अन्य स्रोतसाधन प्रयोग गरी प्रत्येकपटक छुट्टाछुट्टै खोजी गर्दा प्रभावकारी नभएको नेपाली र कोरियाली पक्षको निष्कर्ष छ। नेपाल सरकारकै अनुरोधपछि नै केडीआरटी परिचालन हुने भएकाले टोलीले खोज तथा उद्धारलाई थप प्रभावकारी र व्यापक बनाउने तयारी गरेको छ।   केडीआरटी दक्षिण कोरिया सरकारको नेतृत्वमा परिचालित हुने आपत्कालीन उद्धार इकाइ हो। विदेशमा आइपर्ने ठूलो विपद्पछिको खोज तथा उद्धार, चिकित्सकीय सहायता तथा अन्य राहत कार्यका लागि यसलाई परिचालन गर्ने गरिएको छ।

टोली परिचालन गर्ने निर्णय दक्षिण कोरियाको ओभरसिज इमर्जेन्सी रिलिफ ऐनअन्तर्गत सार्वजनिक–निजी ओभरसिज इमर्जेन्सी रिलिफ काउन्सिलले गर्छ। नेपालमा हुने यो उद्धार केडीआरटीको १२औँ अन्तर्राष्ट्रिय परिचालन हो। यसअघि दक्षिण कोरियाले टर्कीको सन् २०२३ को भूकम्प, लाओसमा सन् २०१८ मा भएको बाँध दुर्घटना तथा नेपालमा सन् २०१५ मा गएको विनाशकारी भूकम्पलगायतका ठूला विपद्का क्रममा उद्धार टोली पठाएको थियो।

भोटेकोसी बाढीले क्षति पुर्‍याएका ११ विद्युत् आयोजनामध्ये कोरियाली लगानीमा निर्माण भइरहेको माथिल्लो त्रिशूली–१ बाट नै सबैभन्दा धेरै सम्पर्कविहीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० का अनुसार आयोजनामा ५७३ जना सम्पर्कविहीन छन्। यसमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्नेहरू हराइरहेका छन्। उनीहरू सुरुङभित्र बसेर काम गरिरहेका थिए वा भित्र प्रवेश गर्न बाँकी थियो भन्ने यकिन भएको छैन। सो दिन आयोजनामा करिब साढे १४ सय जनाले काम गरिरहेको हुन सक्ने अनुमान गरिएको छ। बाढीपछि ५७३ जना सम्पर्कविहीन भएको इप्पानले जनाएको छ भने हालसम्म उद्धार र सम्पर्क आएकाहरूको संख्या ८७३ पुगेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी छ। दक्षिण कोरियाली टोलीको आगमनसँगै खोजी कार्य थप तीव्र र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ।