नदी दाेहनकाे विद्रूप दृश्य : शालिग्राम पाइने विश्वकै एकमात्र नदी यसरी बनाइयाे कुरूप

नदी दाेहनकाे विद्रूप दृश्य : शालिग्राम पाइने विश्वकै एकमात्र नदी यसरी बनाइयाे कुरूप


म्याग्दी ।

नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरूमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी कालीगण्डकीको संसारभर महत्व छ ।

यति महत्वपूर्ण मानिएको कालीगण्डकी नदीको अस्तित्व नासिँदै जाँदा यो नदीसँग जोडिएको ‘जल’ सभ्यता पनि संकटमा पर्दै जान थालेको छ । मानवीय लापरबाही, नदीको दोहन र प्राकृतिक प्रकोपका कारण कालीगण्डकी कुरुप बन्दै गएको हो ।

कालीगण्डकीको महत्त्व विभिन्न धार्किक ग्रन्थहरूमा उल्लेख गरिएको छ । सबैभन्दा पुरानो मानिएको ऋग्वेदका अनुसार ‘ऋषि त्रिशिरा त्वाष्ट्र देवता आपो देवता, गायत्री आपो हि ष्ठा मयोभुवस्ता न ऊर्जे दधातन । महे रणाय चक्षसे । अर्थात् हे जलदेवता ! तिमी सुखका मूल स्रोत हौ, हामीलाई पराक्रमले युक्त उत्तम कर्म गर्नका लागि पोषक रस प्रदान गर ।’ यस मन्त्रमा जललाई पराक्रम, उत्तम कर्म र सुखका लागि पोषण प्रदान गर्ने भनिएको छ । यसरी कालीगण्डकीको जलसँग सभ्यता जोडिएको छ ।

त्यसैगरी ऋग्वेदको अर्को ऋचामा ‘यो वः शिवतमो रसस्तस्य भाजयते नः । उशतीरिव मातरः । अर्थात् हे जलदेवता ! हामीलाई अत्यन्त पोषक रस सेवन गर्न देऊ, आमाले आफ्ना दुधले बच्चालाई पोषण दिएझैं हामीलाई तिमी पोषित गर ।’ यहाँ जल र मानिसको सम्बन्ध आमा तथा बच्चाको जस्तो भएको भनिएको छ । जलसँगै आमाको महत्त्व दिइएको छ ।

कालीगण्डकी केवल पानीले निकास खोज्दै उँधोतिर बगेको नदीमात्र होइन, यो सिंगो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहर हो भन्ने कुरा विर्सदा कालीगण्डकीको सभ्यता संकटमा पर्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग गहिरोसँग अन्योन्याश्रित सम्बन्ध रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

पछिल्लो समय गैरकानुनी रूपमा कालीगण्डकीको दोहन बढिरहेको र अतिक्रमण गरेर आफूखुसी प्रयोग भइरहेकोप्रति उनले चिन्ता व्यक्त गरे । विश्वकै एकमात्र शालिग्राम पाइने नदीका रुपमा यसको बेग्लै पहिचान बनेको छ । हिन्दुहरूको शव कालीको किनारमा दाहसंस्कार गर्दा मृत्युपछि राम्रो हुने जनविश्वास अहिले पनि रहेको क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीको भनाइ छ ।

कालीगण्डकीको महिमा यतिमै मात्र सीमित रहँदैन । कालीगण्डकी शालिग्राम पाइने पवित्र नदी मात्र नभएर पशु, पक्षी, किट, पतंगदेखि लिएर मानव जातिलाई समेत सेवा पुर्‍याएको प्राकृतिक सेवक पनि भएको पण्डित भीमनाथ पराजुलीले बताए । ‘कालीगण्डकीको धार्मिक महत्व त अवर्णनीय छ नै, यसको जैविक, सांस्कृतिक र मानवीय दैनिकीसँग गाँसिएको महत्त्व पनि कम छैन,’ पण्डित पराजुलीले भने ।

त्यसैगरी राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले पनि कालीगण्डकी शालिग्राम कुद्ने विश्वकै एकमात्र नदी भएको उल्लेख गर्दै लेखेका छन्-

‘माछापुच्छ्रे गिरी शिखरको पारमा मुक्तिक्षेत्र

बल्छन् बत्ती झलमल जहाँ भुलभुले मुलभित्र

तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम

काली गंगा भनन कसरी कुद्दछ्यौँ शालिग्राम ?’

शालिग्राम कुद्ने विशिष्ट वरदान पाएको पवित्र नदी कालीगण्डकीको भौतिक अस्तित्वमाथि विकासका नाउँमा मानवीय प्रहार हुन थालेपछि पवित्र नदी कालीगण्डकीको सभ्यता र अस्तित्व दुवै संकटमा परेको कालीगण्डकी बचाउ अभियानका अभियानकर्मी सागरजीवी उपाध्यायले बताए ।

ऋग्वेदमा ‘ईशाना वार्याणां क्षयन्तीयार्षणीनाम् अपो याचामि भेषजम् अर्थात् जल प्रवाह मानिसको इच्छित पदार्थको स्वामी र सम्पूर्ण प्राणीको आश्रयदाता हो । हामी जलबाट औषधिमा जीवनरसको कामना गर्दछौं’ भनिएको छ । यसले पनि जल सभ्यता के हो भनेर बुझ्न सकिने पं पराजुलीले बताए ।

पं पराजुलीले भने, ‘नदी मानवजातिको सभ्यता र विकासको आधार हो, मानवसभ्यताको विकास नदी किनारमा नै बढी भएको छ, नदीहरू जलस्रोत हुन्, जीवनका लागि र जीवनपछि पनि जलको महत्व रहेको छ, नदी/जल हाम्रा धार्मिक, आध्यात्मिक, सांस्कृतिक, आर्थिक उन्नतिका आधार हुन्, हाम्रो स्वास्थ्य र दिनचर्या जल—पानीमा आधारित छ । आर्थिक समृद्धिका लागि जल र जलसँग सम्बन्धित उद्यम, उपक्रममा अझ जोड दिन आवश्यक छ ।’ ती सबै नदीहरूमध्ये कालीगण्डकी नदीको विशिष्ट महत्व रहेको उनको भनाइ छ ।

कालीगण्डकीको मुक्तिनाथदेखि देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ । यसबाट हजारौँ हेक्टर भूमि सिञ्चित भएको छ । कालीलाई थुनेर ठाउँठाउँमा विद्युत् ऊर्जा निकालिएको छ । नेपालकै सबैभन्दा ठुलो भनेर चिनिने कालीगण्डकी हाइड्रोपावर पनि यसै नदीमा छ । पछिल्लो समय कालीगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजनाका कारण कालीगण्डकी चर्चामा छ ।

बुटवल, भैरहवा, रुपन्देही, कपिलवस्तुलगायत क्षेत्रमा कालीगण्डकीको पानी पुर्‍याएर सिँचाइ, जलविद्युत् र अन्य प्रयोजनका लागि लाभान्वित गर्ने बृहत् उद्देश्यका साथ डिजाइन गरिएको राष्ट्रिय आयोजनाका रूपमा यस आयोजनालाई लिइएको छ ।