काठमाडौं । रुसले सन् २०२३ देखि इरानलाई सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरिरहेको खुलासा भएको छ। रुसका इन्जिनियरहरूले इरानलाई ‘र्यामजेट’ प्रविधिमा आधारित मिसाइल विकास गर्न सहयोग गरिरहेको फाइनान्सियल टाइम्स (एफटी) को अनुसन्धानले देखाएको छ।
एफटीका अनुसार रुसले ‘C430L’ नामक बहुवर्षीय गोप्य कार्यक्रममार्फत इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकासमा सहयोग गरिरहेको छ। यसले मध्यपूर्वमा अमेरिकी विमानवाहक युद्धपोतलाई लक्षित गर्ने इरानको क्षमता उल्लेख्य रूपमा बढाउन सक्ने बताइएको छ।
रिपोर्टअनुसार C430L कार्यक्रम सन् २०२३ मा सुरु भएको थियो, जसमा रुसका अनुभवी मिसाइल विशेषज्ञहरू संलग्न थिए। यो सहकार्य सन् २०२६ सम्म पनि जारी रहेको र हालै अमेरिका–इजरायल र इरानबीच भएको युद्धका क्रममा समेत सहयोग गरिएको दाबी गरिएको छ।
एफटीको अनुसन्धान रुसबाट चुहिएका पत्राचार, यात्रा विवरण तथा सैन्य पेटेन्टमा आधारित छ।
कार्यक्रमको मुख्य उद्देश्य इरानलाई र्यामजेट प्रणोदन प्रणाली विकास गर्न सहयोग गर्नु रहेको छ। र्यामजेट यस्तो इन्जिन हो, जसले क्रुज मिसाइललाई ध्वनिको गतिभन्दा तीव्र गतिमा उड्न सहयोग गर्छ।
रिपोर्टमा उद्धृत सैन्य विज्ञहरूका अनुसार यो प्रविधि जहाजविरोधी तथा स्थलमा प्रहार गर्ने मिसाइल दुवैका लागि प्रयोग गर्न सकिन्छ।
सुपरसोनिक क्रुज मिसाइल उच्च गतिमा कम उचाइमा उड्न सक्ने भएकाले वायु रक्षा प्रणालीले यस्ता मिसाइललाई समयमै पत्ता लगाएर रोक्न कठिन हुने विज्ञहरूको भनाइ छ।
कन्फ्लिक्ट आर्मामेन्ट रिसर्चका इरानी मिसाइल विशेषज्ञ फाबियन हिन्जले यसलाई इरानले दशकौँदेखि हासिल गर्न खोजिरहेको अत्यन्त संवेदनशील रणनीतिक सैन्य प्रविधि रुसबाट हस्तान्तरण हुनु भएको बताएका छन्।
एफटीको अनुसन्धानअनुसार रुसी मिसाइल निर्माता कम्पनी एनपीओ माशिनोस्ट्रोएनियाका प्रतिनिधिहरूले नोभेम्बर २०२३ मा इरानको रक्षा मन्त्रालयसँग C430L सम्झौता हुनुअघि पटक–पटक इरान भ्रमण गरेका थिए।
रुसी इन्जिनियरहरूले इरानमा गरिएको मिसाइल परीक्षणको तथ्यांकसमेत विश्लेषण गरेका थिए। उनीहरूले मिसाइल इन्जिनको इन्धन प्रणाली, दहन स्थिरता, हावाको प्रवेश प्रणाली र नोजलको कार्यक्षमताबारे इरानी अधिकारीहरूसँग परामर्श गरेका थिए।
सन् २०२५ को अप्रिलमा करिब दुई दर्जन रुसी विशेषज्ञ थप प्राविधिक परामर्शका लागि इरान पुगेका थिए।
रिपोर्टका अनुसार एफटीले टिप्पणीका लागि क्रेमलिन र एनपीओ माशिनोस्ट्रोएनियासँग सम्पर्क गरे पनि उनीहरूले प्रतिक्रिया दिएका छैनन्। इरानले पनि एफटीको प्रश्नको जवाफ दिएको छैन।
यो सहकार्यले दीर्घकालीन रूपमा इरानलाई र्यामजेट प्रविधिमा दक्षता हासिल गर्न तथा स्वदेशमै उन्नत हतियार विकास गर्न सहयोग पुग्न सक्ने बताइएको छ।
मस्को र तेहरानबीच सैन्य सम्बन्ध थप गहिरिँदै गएको समयमा यो गोप्य कार्यक्रम सार्वजनिक भएको हो। युक्रेन युद्धमा प्रयोग भएका शाहेद ड्रोन इरानले रुसलाई उपलब्ध गराउँदै आएको छ भने रुसले इरानलाई सैन्य तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया