काठमाडौं । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत अभियानमा सहयोग गर्न अमेरिकी सेनाका दुईवटा विमान आवश्यक उपकरणसहित नेपाल आइपुगेका छन् ।
नेपालको नेतृत्वमा भइरहेको उद्धार तथा राहत कार्यलाई सहयोग पुग्ने गरी अमेरिकी सेनाका विमानले साना लोडरसहित आवश्यक उपकरण तथा राहत सामग्री ल्याएका हुन् ।
अमेरिकी राजदूतावासका अनुसार बाढीपछि उद्धार र राहत कार्यमा प्रयोग गर्न ५ हजार विशिष्टीकृत सामग्री, ५०० वटा प्राथमिक उपचार किट र स्ट्रेचर ल्याइएको छ । नेपाल सरकारले अनुरोध गरेपछि ती सामग्री पठाइएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार अमेरिकाले यसअघि नै ३६ लाख अमेरिकी डलर बराबरका थप राहत सामग्री नेपाल ल्याइसकेको थियो । पछिल्लो सहयोगले विपद्को समयमा नेपाल र अमेरिकाबीचको सहकार्य तथा साझेदारीलाई थप बलियो बनाएको दूतावासको भनाइ छ ।
यसैबीच, पर्याप्त प्रविधि र अत्याधुनिक उपकरणको अभावमा रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धार चुनौतीपूर्ण बनेको छ । बाढी आएको आठ दिन बितिसक्दा पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेको छैन ।
सुरुङभित्रको अवस्था जटिल र जोखिमपूर्ण रहेकाले उद्धारका लागि आवश्यक उपकरण तथा प्रविधिको व्यवस्थापनमा नेपाल सरकार र विदेशी प्राविधिक टोलीहरू समेत परिचालित भइरहेका छन् । पछिल्लो अमेरिकी सहयोगले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण उपलब्ध हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया