काठमाडौं । नेपाल प्रहरीले बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ।
बाढीमा परी २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म तीन जनाको शव फेला परेको छ। दिवंगत प्रहरी कर्मचारीका परिवारलाई प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराइनेछ।
सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि परिवारसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, दिवंगत प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने, परिवारका इच्छुक एक जनालाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गर्ने निर्णय भएको छ।
दिवंगत प्रहरीका सन्ततिलाई प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म र नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा उच्च शिक्षासम्म शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णयसमेत गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि पनि राहत उपलब्ध गराइने भएको छ। इलाका प्रहरी कार्यालय टिमुरे, अस्थायी प्रहरी मैलुङ, प्रहरी चौकी रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीमा कार्यरत प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।
यसैगरी दिवंगत, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका परिवारलाई खोजतलास, उपचार तथा सेवा सुविधाका लागि सहजीकरण गर्न नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ।

प्रतिक्रिया