काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन गरी प्रभावित सबै स्थानमा पूर्ण रूपमा नेटवर्क पहुँच कायम गरेको छ । यही गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावरबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।
नेपाल टेलिकमका प्राविधिकहरू निरन्तर रूपमा वाढी प्रभावित क्षेत्र तथा विपद् प्रतिकार्य कक्षमार्फत सेवा पुनःसञ्चालन कार्यमा खटिएपश्चात् साइटहरू पुनःसञ्चालनमा आएको प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए ।
सो कार्यका लागि बाढीले सडक तथा विद्युत् अवरुद्ध भएका स्थानमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टरमार्फत प्राविधकसहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराइ सेवा पुनःसञ्चालन गरिएको थियो ।
यही भदौ १७ गते नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा सञ्चालित राहत र उद्धार कार्य सञ्चालन भएका सबै स्थानमा सञ्चार सेवाको पहुँच पुगेको थियो ।

प्रतिक्रिया