रसुवा । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको उद्धार टोलीले बिहीबार दुई जनाको शव निकालेको छ।
आयोजना अनुसार सुरुङभित्र खोजी तथा उद्धारमा खटिएको सेनाको टोलीले दुई जनाको शव निकालेको हो।
बुधबार हाइड्रो-मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेको थियो। सेनाको टोलीले सोही बाटोबाट बिहीबार शव निकालेको हो।
यसअघि सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटोबाट भित्र प्रवेश गरी खोजी गर्ने प्रयास गरेको थियो। तर सुरुङभित्र ढुंगा, माटो र लेदो भरिएका कारण टोली करिब १०० मिटरभित्र पुगेपछि अघि बढ्न सकेको थिएन।
त्यसपछि आयोजनाका प्राविधिकसहितको टोलीलाई वैकल्पिक बाटोबाट खोजी तथा उद्धारमा परिचालन गरिएको थियो। अहिले पनि सुरुङभित्र खोजी कार्य जारी रहेको छ।
२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत २५ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ।

प्रतिक्रिया