प्रतिनिधिसभा बैठकमै ढले कांग्रेस सांसद खड्का, वीर अस्पताल लगियो

प्रतिनिधिसभा बैठकमै ढले कांग्रेस सांसद खड्का, वीर अस्पताल लगियो


काठमाडौं । प्रतिनिधि सभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्का आफ्नै सिटमा अचानक ढलेपछि उनलाई वीर अस्पताल भर्ना गरिएको छ ।

बिहीबारको बैठकमा सांसदहरूले भोटेकोसी बाढीबाट भएको क्षति, खोज, उद्धार तथा राहत वितरणबारे सरकारसँग प्रश्न गरिरहेका थिए । सांसद खड्काले पनि बैठकमा बोल्दै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।

त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफ्नै सिटमा अचानक अस्वस्थ भएर ढलेका थिए । खड्का ढलेपछि अन्य सांसदहरू तत्काल उनको सिटतर्फ पुगेका थिए ।

घटनापछि सभामुख डोलप्रसाद अर्यालले बैठक केहीबेर रोकेका थिए । सांसद खड्काको संसद् सचिवालयमै तत्काल स्वास्थ्य परीक्षण गरिएको थियो ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार खड्काको रक्तचाप उच्च देखिएको थियो । उनको अवस्था सामान्य रहेको भए पनि थप उपचारका लागि वीर अस्पताल लगिएको हो ।

खड्का ढलेपछि केहीबेर प्रभावित भएको प्रतिनिधि सभाको बैठक त्यसपछि पुनः सञ्चालनमा आएको थियो ।