काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबीच शुक्रबार बिहान टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अस्ट्रेलियाली समकक्षीसँगको संवाद महत्त्वपूर्ण रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट जनधन तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे।
उनले विपद्का बेला उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्दै विशेषज्ञ ड्रोन अपरेटरको टोली, अत्यावश्यक राहत सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिए।
प्रधानमन्त्री शाहले बाढीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकको खोजी कार्य तीव्र पारिएको जानकारीसमेत गराए।
नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले विपद्को समयमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अस्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताए।
वार्ताका क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले बाढीका कारण नेपालले भोगिरहेको कठिनाइप्रति चासो र चिन्ता व्यक्त गरेका थिए।

प्रतिक्रिया