भोटेकोशी बाढी पीडितका तस्वीर–भिडिओ सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

भोटेकोशी बाढी पीडितका तस्वीर–भिडिओ सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह


काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् ।

भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले उनीहरूको व्यक्तिगत विवरण, तस्वीर तथा भिडिओ सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गरेका हुन् ।

सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को वास्तविकता सार्वजनिक गर्नु सञ्चारमाध्यमको महत्वपूर्ण दायित्व भए पनि विपद्बाट प्रभावित व्यक्तिको गोपनीयता, सुरक्षा, आत्मसम्मान र मानसिक संवेदनशीलताको सम्मान गर्नु पत्रकारिताको अझ महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

उनले सम्बन्धित निकायसँग समन्वय नगरी होल्डिङ सेन्टरमा प्रवेश नगर्न पनि सञ्चारकर्मीलाई आग्रह गरेका छन् । बालबालिका तथा अन्य संवेदनशील अवस्थाका व्यक्तिको पहिचान खुल्ने तस्वीर, भिडिओ वा व्यक्तिगत विवरण सहमतिबिना सार्वजनिक नगर्न र उद्धार तथा राहत व्यवस्थामा अवरोध नपुग्ने गरी समाचार संकलन तथा सम्प्रेषण गर्न पनि उनले अनुरोध गरे ।