चीनले नेपाललाई हिमताल र मौसमसम्बन्धी आपत्‌कालीन सूचना निरन्तर दिने

चीनले नेपाललाई हिमताल र मौसमसम्बन्धी आपत्‌कालीन सूचना निरन्तर दिने


काठमाडौं । चीनले नेपाललाई हिमताल तथा नदीमा बन्ने अवरोधको जोखिमसँगै आपत्‌कालीन जलविज्ञानसम्बन्धी सूचना निरन्तर उपलब्ध गराउने भएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार चीनको जलस्रोत मन्त्रालयले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अवरोध तथा हिमतालको जोखिमसम्बन्धी आपत्‌कालीन जलविज्ञान अनुगमनका सूचना उपलब्ध गराइरहनेछ।

दूतावासले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीमा भनिएको छ, ‘चीनले नेपाललाई उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन हिमतालको जोखिम र अवरोधलाई समेट्दै आपत्‌कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचनाहरू निरन्तर उपलब्ध गराउनेछ।’

यससँगै चीनका मौसमसम्बन्धी निकायले भोटेकोसी बाढीपछि नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा विपद्को सम्भावित प्रभावसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको जनाएको छ।

चाइना मेटियोरोलोजिकल एडमिनिस्ट्रेसनका प्रवक्ताले पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन्। उनका अनुसार चीन–नेपाल सीमा क्षेत्रमा रहेको जिरोङ–रसुवा नाकामा गम्भीर पहिरो गएलगत्तै चीनको मौसमसम्बन्धी निकायले नेपालको मौसम विभागसँग भिडिओमार्फत मौसमसम्बन्धी परामर्श गरेको थियो।

त्यसयता नेपालमा जारी उद्धार तथा राहत अभियानलाई सहयोग पुग्ने गरी चीनले मौसमसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको दूतावासले जनाएको छ।

विशेषगरी हिमताल फुट्ने, नदीमा अवरोध सिर्जना हुने तथा त्यसबाट थप बाढीको जोखिम बढ्न सक्ने अवस्थाबारे जलविज्ञानसम्बन्धी सूचना आदानप्रदानले प्रभावित क्षेत्रमा उद्धार तथा विपद् व्यवस्थापनका लागि थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।