काठमाडौं,
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा शुक्रबार खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० का अनुसार आयोजनाको सुरूङ तथा हेडवर्क्स क्षेत्रमा तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा सल्लेटार एरियामा ती शवहरू भेटिएका हुन्। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले अहिलेसम्म पहिचान हुन सकेको छैन। नेपाली सेनाले शवहरूलाई बट्टार ल्याएको छ।
बाढी आउनुअघि आयोजनास्थलमा कुल १ हजार ४३३ जना कार्यरत थिए। तीमध्ये हालसम्म ८७६ जनाको उद्धार भइसकेको छ भने ५५१ जना अझै सम्पर्कविहीन छन्। सुरूङभित्र करिब १ सय १५ जना फसेको आशंका गरिएको छ।
शुक्रबार दिनभर हेडवर्क्स र सुरूङ क्षेत्रमा खोजी कार्य भएको थियो। कोरियाली उद्धार टोली, शेर्पा, ड्रोन र सर्च टिम सक्रिय रहेको आयोजनाले जनाएको छ। आवश्यक उपकरणसहित शनिबार पनि उद्धार कार्य निरन्तर रहने बताइएको छ।
भदौ १० गते नेपाल–चीन सीमा नजिक गएको हिमपहिरो र त्यसपछि भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनाको बाँध, संरचना, कार्यालय र आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो। यो आयोजना नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको सबैभन्दा ठूलो जलविद्युत परियोजना हो।
उद्धार कार्य कठिन भूभाग र बाक्लो लेदोका कारण चुनौतीपूर्ण बनेको छ। पीडित परिवारहरूले शीघ्र उद्धार र सही जानकारी माग गर्दै आएका छन्।

प्रतिक्रिया