काठमाडौं । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको पहलमा प्राप्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।
स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको उक्त ड्रोन मानवीय उद्धारसँगै जोखिमपूर्ण तथा भूमिगत संरचनाको निरीक्षणमा प्रयोग गर्न सकिने बताइएको छ । स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।
विशेषगरी मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोज तथा निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको छ । यसमा विशेष सुरक्षा घेरा जडान गरिएको हुँदा सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको जनाइएको छ ।
ड्रोनमार्फत सुरुङभित्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा पहिचान गर्न सकिने भएकाले उद्धार टोलीलाई सम्भावित जोखिमको मूल्याङ्कन गर्न, फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिन तथा उद्धारको रणनीति तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार उद्धारकर्तालाई सुरुङभित्र प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न तथा कठिन परिस्थितिमा खोज तथा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन नयाँ प्रविधिले महत्वपूर्ण सहयोग पुर्याउनेछ ।
जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा दुर्घटना वा विपद् हुँदा खोज तथा उद्धार चुनौतीपूर्ण हुने गरेको अवस्थामा यस्तो अत्याधुनिक प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

प्रतिक्रिया