गुठीको जग्गा खाली गर्ने सूचनाविरुद्ध स्थानीयबासीको विरोध

गुठीको जग्गा खाली गर्ने सूचनाविरुद्ध स्थानीयबासीको विरोध


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउने सम्बन्धमा राजगुठीले जारी गरेको ७ दिने सूचनाको स्थानीयबासीले विरोध गरेका छन् ।

राजगुठीले पोखरी तथा डिल क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । स्थानीयले सम्बन्धित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै सूचना तत्काल पुनरवलोकन गर्न माग गरेका छन्।

प्रदर्शनमा उत्रिएका स्थानीयले जग्गाको स्वामित्व, नापी तथा कानुनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको बताएका छन् । जग्गाको वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानुनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने उनीहरूको भनाइ छ ।

सूचनाको विरोधमा स्थानीयले मंगलबार जनकपुरधामको पिडारी चोकमा चक्काजाम तथा प्रदर्शन गरे । चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो ।

प्रदर्शनमा सहभागीहरूले आफूहरूको मागलाई बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् । उनीहरूले सम्बन्धित निकायसँग तत्काल छलफल गरी विवादित जग्गाको स्वामित्व र अवस्थाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।