काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) ले अघि सारेका समावेशी समाजवाद, लोकतन्त्र र राष्ट्रिय मेलमिलापका विचार अहिलेको राजनीतिक तथा सामाजिक परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेको वक्ताहरूले बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले बीपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा बुधबार आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले बीपीका विचारलाई इतिहासमा सीमित नगरी वर्तमान राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले बीपीले समावेशी समाजवादसहित राज्य सञ्चालनको प्रयोग गरेको उल्लेख गर्दै जातीय विभेद र साम्प्रदायिक राजनीतिविरुद्ध उनले उठाएको आवाज महत्वपूर्ण रहेको बताए । बीपीले औद्योगिकीकरण, खुला अर्थव्यवस्था र दिगो विकाससम्बन्धी बहसको सुरुवात गरेको उल्लेख गर्दै उनले वर्तमान आर्थिक नीतिसँग बीपीको आर्थिक चिन्तनलाई जोडेर अध्ययन गर्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. जगदीशनरसिंह केसीले बीपीलाई नेपाली राजनीतिका शिखर व्यक्तित्वका रूपमा स्मरण गर्दै उनको राजनीतिकसँगै साहित्यिक योगदान पनि महत्वपूर्ण रहेको बताए । पछिल्लो राजनीतिक बहसमा समेत बीपीका विचारको सान्दर्भिकता बढ्दै गएको उनको भनाइ थियो ।
वरिष्ठ पत्रकार तथा नागरिक अगुवा तारानाथ दाहालले बीपीको निधन भएको चार दशकभन्दा बढी समय बितिसक्दा पनि उनका विचार कमजोर नभएको बताए । बीपी समाजवादी मात्र नभई मानवतावादी चिन्तकसमेत भएको उल्लेख गर्दै दाहालले समयअनुसार उनका विचारलाई परिमार्जन गर्दै नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिए ।
वरिष्ठ पत्रकार हरिहर विरहीले बीपीले नेपाली जनतालाई ‘रैती’बाट नागरिक बनाउने लोकतान्त्रिक चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले बीपीलाई नेपालको राजनीतिक ‘आर्किटेक्ट’को संज्ञा दिँदै राष्ट्रियता कुनै व्यक्ति वा संस्थामा मात्र सीमित नभई आम नागरिकसँग जोडिएको विषय भएको बीपीको दृष्टिकोण रहेको बताए ।
त्यस्तै, वरिष्ठ पत्रकार नकुल अर्याल र रमेश तुफानले पनि बीपीको लोकतान्त्रिक आदर्श, त्याग र युवाप्रतिको दृष्टिकोण वर्तमान राजनीतिका लागि महत्वपूर्ण रहेको धारणा राखे । उनीहरूले बीपीका राजनीतिक तथा साहित्यिक विचारलाई समकालीन सन्दर्भमा पुनः बहसमा ल्याउनुपर्ने बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा वक्ताहरूले बीपीका राजनीतिक, सामाजिक, आर्थिक र साहित्यिक योगदानबारे चर्चा गरेका थिए । उनीहरूले बीपीका विचारलाई केवल राजनीतिक इतिहासको विषय नभई वर्तमान लोकतान्त्रिक अभ्यास, सामाजिक न्याय र राष्ट्रिय एकताको आधारका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया