पति सम्पर्कबिहीनपछि सिताका आँखा अझै ओभानो हुन सकेन

पति सम्पर्कबिहीनपछि सिताका आँखा अझै ओभानो हुन सकेन


बर्दिया। सिताका आँखा अझै ओभानो हुन सकेको छैन ।
पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्क बिहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन् ।

“यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता हुनुभयो,” श्रीमती सिता थारुले गहँभरी आँसु झार्दै भन्नुभयो ।

श्रीमान्को चिन्तामा पीडित सिता दिनरात टोलाएर बस्नुहुन्छ, कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्नुहुन्छ की ! सिताको अझै आसा मरेको छैन । दसैँ खर्च जुटाउनका लागि नुवाकोट जानुभएका थियो ।

उहाँ भन्नुहुन्छ, घरको मुख्य व्यक्ति श्रीमान् नै बेपत्ता भएपछि सहरा बिहीन बनेको बताउनुहुन्छ ।

सिताका दुई छोरी छन् । कञ्चन चौधरी १२ वर्षकी, कक्षा ६ मा पढ्छिन्, भने सानी छोरी सितल चौधरी पाँच वर्षकी छिन्, बाल कक्षामा पढ्दैछिन् । सरकारले पतिको खोजी गर्न ढिलाइ गरेकोमा उनलाई थप चिन्ता परेको छ ।

सिताका श्रीमान् खक्का बाढी आएको दुई हप्ता अगाडि मात्रै नुवाकोटको त्रिशुली ३ ‘बी’मा काम गर्न गएका थिए । बेपत्ता खक्का लामो समयदेखि स्वादेशका बिभिन्न ठाउँमा काम गर्दै आउनुभएको थियो ।

अरुबेला उहाँले श्रीमती र कान्छी छोरी सानी भएकाले सँगै लिएर काम गर्न जाने गर्नुभएको थियो । तर, यस पटक भने उनले कान्छीलाई विद्यालय भर्न गरेकाले पढाइ बिग्रिने चिन्ताले घरमै छाडेका थिए ।

विदेश जान खक्काले पासपोर्ट बनाई सकेका थिए । भिसा नआउँदा कमाई गर्न नुवाकोट जानुभएको थियो । ‘घर बनाउँदा लिएको ऋण रु पाँच लाख तीर्न बाँकी छ,’ सिताले सुनाउनुभयो ।

श्रीमान्को खोजी गर्न सिता भदौ १३ गते आफन्तसहित चितवनसम्म पुगेका थिए । दुई दिन चितवन र नवलपरासी पूर्वका विभिन्न अस्पतालमा खोजी भयो, भेट्टिएनन् । श्रीमान्को पहिचानका लागि जिल्ला अस्पताल, गुलारियामा ठूलो छोरी कञ्चनले डिएनए परीक्षणका लागि रगत दिएका छन् ।

मज्दुरी गरी घर व्यवहार चलाउदै आएका खक्का सानैदेखि नै टुहुरो थिए । सानोमै बुवा गुमाएका उहाँले चार वर्ष अगाडि आमा पनि गुमाइसकेका थिए ।

छत्तिस वर्षका खक्का सानै उमेर भएदेखि नै बाहिर मज्दुरी गर्दै घर व्यवहार चलाउदै आउनुभएको थियो । अहिले उहाँको एउटा भाई गङ्गाप्रसाद चौधरी छन्, तर छ वर्ष अगाडि अलग भएर अहिले विदेशमा हुनुहुन्छ ।

सिताका श्रीमान् खक्का जस्तै रसुवा बाढीबाट बर्दियाका ७६ जना बेपत्ता छन् । बारबर्दियाका मात्रै २५ जना रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका बिपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले बताउनुभयो ।