काठमाडौं । नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा पुगेको छ।
मलेसियाको क्वालालम्पुरस्थित बायुएमस क्रिकेट ओभलमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । यससँगै नेपालले उपाधिका लागि यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । अर्को सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै यूएईले फाइनलको यात्रा तय गरेको थियो।
१४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भएको हो । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए । जितेन रामानादीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३–३, ललित राजवंशीले २ तथा रोहित कुमार पौडेलले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भएको थियो । नेपालका लागि अर्धशतकीय पारी खेल्दै दीपेन्द्र सिंह ऐरीले ७६ बलमा ४ चौका प्रहार गर्दै ५१ रनको योगदान गरे। बसिर अहमदले ४७ रन बनाए । देव खनालले १३ र र आसिफ शेखले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । ओमानका लागि जयविराम आडेडारा र हसनैन शाहले ३–३ विकेट लिए ।
शनिबार हुने फाइनल खेलमा नेपाल र यूएई आमने सामने हुनेछन् । उपाधि विजेता आगामी एसिया कपका लागि क्वालिफाइ हुनेछ ।

प्रतिक्रिया