काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रेमबहादुर वयकले देशमा जारी खाना पकाउने ग्यासको तीव्र अभाव र त्यसका कारण सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद वयकले आपूर्तिको चरम लापरवाहीका कारण नागरिक दैनिक जीवनमा समस्यामा परेको बताए ।
बैठकमा बोल्दै सांसद वयकले सुत्केरी श्रीमतीलाई समयमा खाना पकाएर खुवाउन ग्यास नपाएपछि एक युवाले आत्महत्याको प्रयास गरेको दर्दनाक घटना सुनाए ।
्यस्तो दुखद् घटनाको नैतिक जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने उनको भनाइ थियो। काठमाडौंलगायत देशका विभिन्न स्थानमा विद्यार्थी तथा सर्वसाधारण ग्यास नपाएर सास्ती खेप्न बाध्य भएको र सांसदहरूसँग फोनमार्फत सहयोग माग्नुपर्ने परिस्थिति बनेको भन्दै उनले आपूर्तिको अव्यवस्था तत्काल सच्याउन माग गरेका छन् ।
वर्षामा भिज्दै रित्तो सिलिन्डर बोकेर घन्टौँ लाइनमा बस्नुपर्ने बाध्यता कहिलेसम्म रहने भन्दै उहाँले सरकारलाई प्रश्न गरे । साथै, जेन्जी आन्दोलनको जगमा निर्माण भएको सरकारप्रति पनि आम नागरिकमा चरम निराशा बढ्दै गएको टिप्पणी गरेका छन् ।
विगतमा ‘बोल्न देऊ’ भन्दै आन्दोलन गरेकाहरू नै सत्तामा पुगेपछि नागरिक र सांसदहरूले प्रश्न उठाउँदा खबरदारी र दबाबको भाषा प्रयोग गर्न थालेको उनको आरोप छ।

प्रतिक्रिया