इरानले अमेरिकी सैन्य पनडुब्बी कब्जा गरेको दाबी, रिभर्स इन्जिनियरिङको जोखिम

इरानले अमेरिकी सैन्य पनडुब्बी कब्जा गरेको दाबी, रिभर्स इन्जिनियरिङको जोखिम


एजेन्सी । इरानले अमेरिकाको एउटा सैन्य पनडुब्बी कब्जा गरेको दाबी गरेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त पनडुब्बीको रिभर्स इन्जिनियरिङमार्फत प्रविधि र डिजाइनको नक्कल गर्ने जोखिम रहेको छ।

रोयटर्सको रिपोर्टमा विज्ञहरूलाई उद्धृत गर्दै इरानले उक्त पनडुब्बीलाई आफ्नो सैन्य कार्यक्रमका लागि प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ। इरानले यसअघि सन् २०११ मा कब्जा गरेको अमेरिकी आरक्यू–१७० स्टिल्थ ड्रोनमा पनि यस्तै गरेको दाबी गरिएको छ।

इरानले कब्जा गरेको भनिएको पनडुब्बीको नाम ‘डाइभ–एलडी’ हो। यो मानवविहीन पानीमुनि सञ्चालन हुने यान हो। यसले लामो दूरीसम्म निगरानी गर्न, समुद्रको सतह तथा तल्लो भागको नक्सांकन गर्न, समुद्रमा रहेका माइन पत्ता लगाउन र तिनलाई निष्क्रिय पार्न सक्छ।

यो मानवको प्रत्यक्ष सहयोगबिना लगातार केही दिनसम्म सञ्चालन हुन सक्ने बताइएको छ।

यसअघि सन् २०११ मा इरानले अमेरिकाको आरक्यू–१७० स्टिल्थ ड्रोन कब्जा गरेको थियो। त्यसपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले तेहरानसँग उक्त ड्रोन फिर्ता गर्न माग गरेका थिए।

पछि इरानले आफूले उक्त ड्रोनको रिभर्स इन्जिनियरिङ गरेको र त्यसको डिजाइनका आधारमा आफ्नै ड्रोन निर्माण गरेको दाबी गरेको थियो।

रोयटर्सको रिपोर्टमा अमेरिकाले भने यो पनडुब्बीसम्बन्धी घटनालाई ठूलो विषयका रूपमा प्रस्तुत गर्न नचाहेको दाबीसमेत गरिएको छ।