दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तथा इन्जिनियर दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार रिक्त रहेको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने तयारी गरिएको हो । त्यसका लागि प्रधानमन्त्री शाहले साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी गरेका छन् ।

साह मन्त्री बन्ने भएपछि निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किएको बताइएको छ ।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि मन्त्रालय रिक्त भएको थियो । ग्यास अभावका विषयमा उद्योगीप्रति आक्रोश व्यक्त गर्दै उनले संसदीय समितिको बैठकमा ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनेपछि उनको चर्को आलोचना भएको थियो ।

यादवले राजीनामा दिएसँगै प्रधानमन्त्री शाहले रिक्त मन्त्रालयमा साहलाई ल्याउने तयारी गरेका हुन् । सचिवालय स्रोतका अनुसार साहको शपथ आजै साँझ गराउने तयारीसमेत भइरहेको छ ।