कांग्रेस दुई महाधिवेशन निश्चित, शेखर कोइराला अझै तटस्थ

कांग्रेस दुई महाधिवेशन निश्चित, शेखर कोइराला अझै तटस्थ


काठमाडौं। नेपाली कांग्रेसका संस्थापन र इतर पक्षले पार्टीको १५ औँ महाधिवेशन अलग–अलग गर्ने तयारी तीव्र पारेका छन्। दुवै पक्ष सहमतिभन्दा बेग्लाबेग्लै प्रक्रियामा होमिएकाले चमत्कार नभए कांग्रेसमा दुई वटा महाधिवेशन हुने अवस्था सिर्जना भएको छ।

गत पुसको विशेष महाधिवेशनमार्फत चुनिएका सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तयारी अघि बढाएको छ। संस्थापन पक्षले असोज १६ देखि २० गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हल, बगैँचा र पार्किङस्थल बुकिङ गरिसकेको छ। वडा, पालिका र प्रदेश–प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ। जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि मात्र गर्ने तयारी छ। निर्वाचन समितिले बिहीबार सातै प्रदेशमा निर्वाचन संयोजक खटाएको छ।

यता संस्थापन इतर पक्षले असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको छ। केन्द्रदेखि वडासम्म महाधिवेशन तयारी समिति गठन गर्दै इतर पक्ष पनि अगाडि बढिसकेको छ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले दुई वटा महाधिवेशन हुने निश्चित भएको बताए। ‘हामीले पनि असोज १५ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु गर्छौँ। उनीहरूले ३ गतेबाट सुरु गर्दै छन्,’ उनले भने, ‘दुई वटा महाधिवेशन हुन्छ। सर्वोच्च अदालतले के फैसला गर्छ, कसरी जाने, त्यसपछि थाहा हुन्छ।’ सर्वोच्च अदालतको फैसला नआई सहमतिको सम्भावना नरहेको उनको भनाइ छ।

गत साउन २१ मा सर्वोच्चले वैशाख ४ को फैसला पुनरावलोकन हुने अनुमति (निस्सा) दिएपछि देउवा पक्ष सहमतिभन्दा अन्तिम फैसलाको पर्खाइमा देखिएको छ। थापा नेतृत्वको कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चको संयुक्त इजलासले सदर गरेको फैसला पुनरावलोकन प्रक्रियामा प्रवेश गरेपछि देउवा पक्ष छुट्टै महाधिवेशन गर्ने निष्कर्षमा पुगेको हो।

सभापति थापासँग भएको छलफलबारे ब्रिफिङ गर्न सोमबार चुनदेवी पुगेका डा. शेखर कोइरालासँग देउवाले सर्वोच्चको फैसला पर्खिन उपयुक्त हुने जवाफ फर्काएका थिए। अहिले छुट्टाछुट्टै महाधिवेशन गरेर जानुपर्ने देउवाको जोड थियो। पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा पुनरावलोकनको निस्सा आउनुअघि इतर पक्षले राखेका माग सम्बोधनमा संस्थापन पक्ष सकारात्मक देखिएको थियो। तर इतर पक्षले १४ औँ महाधिवेशनबाट आएको कार्यसमितिमा फर्किनुपर्ने अडान लिएपछि सहमतिको सम्भावना क्षीण बनेको हो।

**डा. शेखर कोइराला कुन कित्तामा?**
दुई महाधिवेशनको अवस्था सिर्जना हुँदा सहमतिका लागि मध्यस्थकर्ताको भूमिकामा देखिएका डा. शेखर कोइराला कुन कित्तामा उभिन्छन् भन्ने चासो कांग्रेस कार्यकर्तामा छ। संस्थापन पक्षले शेखर र पूर्णबहादुरलाई मात्रै समेट्ने प्रयास गरिरहेको छ। पछिल्लो एक महिनामा सभापति थापाले अनौपचारिक रूपमा उनीहरूलाई आफूसँग उभ्याउन भरमग्दुर प्रयास गरिरहेका छन्।

देउवा पक्ष भने शेखर र पूर्णबहादुर आफूहरूसँग रहेको दाबी गर्छ। देउवा पक्षका नेता मीन विश्वकर्माले राष्ट्रिय भेला र महाधिवेशन तयारीलगायतका विषयमा उनीहरूसँग कुराकानी भइरहेको बताए। पछिल्लो भेटवार्ता र आगामी दिशाबारे बुधबार शेखरले आफू पक्षीय नेताहरूसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा छलफल गरेका थिए।

निवर्तमान केन्द्रीय सदस्य सञ्जय गौतमका अनुसार शेखर असोज ३ गतेसम्म सहमतिकै प्रयासमा लाग्ने बताएका छन्। ‘असोज ३ गतेसम्म सहमतिको प्रयास गर्न सकिन्छ कि भन्नेमा उहाँ हुनुहुन्छ। सहमति भएन भने कता उभिने तीन–चार दिनमा शेखर कोइरालाले निर्णय लिनुहुन्छ,’ गौतमले भने। देउवाबिनाको एकताको अर्थ नहुने शेखर समूहको निष्कर्ष रहेको उनले बताए। ‘मुलुकको राजनीतिक परिस्थिति र पार्टीको बृहत् एकताका लागि देउवाबिनाको एकताको अर्थ छैन भन्नेमा उहाँ हुनुहुन्छ। एकताबद्ध कांग्रेस निर्विकल्प लक्ष्य बनाउनुभएको छ।’

छलफलमा निवर्तमान उपसभापति धनराज गुरुङ, निवर्तमान सहमहामन्त्री बद्री पाण्डे, नेता बलबहादुर केसी, मिनेन्द्र रिजाल, गौतम लगायतले शेखरको साथ नछाड्ने वचन दिएका छन्। ‘शेखर दाइले केही दिनमा तपाईंहरूसँग छलफल गरेर निर्णय लिन्छु भन्नुभएको छ। उहाँले जे निर्णय लिनुहुन्छ, हामी त्यसलाई मानेर जान्छौँ,’ बद्री पाण्डेले भने।