व्यवसायीलाई प्रधानमन्त्रीको कडा सन्देश: ‘आरोप लागेकै भरमा कसैलाई थुनिँदैन’

व्यवसायीलाई प्रधानमन्त्रीको कडा सन्देश: ‘आरोप लागेकै भरमा कसैलाई थुनिँदैन’

अर्थतन्त्रका विद्यमान चुनौती


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र मुलुकका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल भएको छ।
आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको उक्त छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी भएका थिए ।
भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गरेका थिए ।
छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित भएका थिएनन् ।
छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताए ।
भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्द्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनुभएको ढकालले जानकारी दिए ।