चीनको पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुग्यो

चीनको पाँचौं खेपको राहत सामग्री काठमाडौं आइपुग्यो


काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि चीनले पठाएको आकस्मिक राहत सामग्रीको पाँचौं खेप काठमाडौं आइपुगेको छ ।

राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेना (पीएलए) को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।

चीनले पठाएको राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव राख्ने मर्चरी फ्रिजर, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट र जल उद्धार उपकरण रहेका छन् ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन सहयोग पुग्ने उद्देश्यले सामग्री पठाइएको चीनले जनाएको छ ।

राहत सामग्रीले आगामी दिनमा पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार तथा राहत कार्य अघि बढाउन ठूलो सहयोग पुग्ने मन्त्री पुनले बताएका छन् ।