भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन


काठमाडौं । भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन् ।

उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३ सय ६४ वटा फेला परेका छन् । तनहुँमा ३८ वटा शव फेला परेका छन् भने काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ ।

प्राधिकरणका अनुसार बाढीपहिरोपछि अझै ५ हजार १ सय ३० जना सम्पर्कविहीन छन् ।

मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम पनि भइरहेको छ । हालसम्म १ हजार २ सय ८६ शवबाट डीएनए नमुना संकलन गरिएको छ । यस्तै, सम्पर्कविहीन व्यक्तिका आफन्तबाट १ हजार ७ सय ५१ वटा डीएनए नमुना संकलन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयमार्फत डीएनए नमुना दिन सकिने व्यवस्था गरेको छ । त्यसका लागि दुईवटा फोटो र नाता प्रमाणित हुने कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ ।

प्राधिकरणले प्रभावित जिल्लामा सडक तथा हवाई मार्गमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउने काम जारी राखेको जनाएको छ । पछिल्लो समय काठमाडौंमा रहेको राहत सामग्री प्रभावित जिल्लामा पठाउने क्रम भने केही घटेको छ ।

प्रभावित जिल्लामा तत्कालका लागि राहत सामग्रीको मौज्दात पर्याप्त रहेको जानकारी प्राप्त भएकाले केही सामग्री रोकिएको र आवश्यकता देखिए पुनः पठाइने प्राधिकरणले जनाएको छ ।

राहत वितरणलाई पारदर्शी बनाउन प्राधिकरणले ‘सेतु’ एपमा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ । उक्त प्रणालीमार्फत केन्द्रदेखि जिल्ला, स्थानीय तह र वडासम्म कुन दिन कति राहत सामग्री पठाइयो तथा वितरण भयो भन्ने विवरण हेर्न सकिने व्यवस्था गरिएको छ ।

विपद्का बेला सामाजिक सञ्जालमा पुराना तथा एआईबाट निर्मित भिडियो प्रयोग गरी भ्रामक सूचना फैलाउने क्रम देखिएको भन्दै सरकारले त्यसविरुद्ध कारबाही अघि बढाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सामाजिक सञ्जालमा फैलाइएका १ सय ७३ वटा पोस्टलाई भ्रामक सूचना भन्दै रिपोर्ट गरिएकोमा ८३ वटा हटाइसकिएका छन् ।