यमनको तट कब्जा गरेको हुथीले रेड सी बन्द गर्ला ?

यमनको तट कब्जा गरेको हुथीले रेड सी बन्द गर्ला ?


काठमाडौं । पछिल्ला वर्षहरूमा हुथीहरूले आफ्नो सैन्य क्षमता प्रभावशाली रूपमा विस्तार गरेका छन् । तर, केही विश्लेषक भने उनीहरूले हासिल गरेको सफलता दीर्घकालसम्म कायम राख्न सक्नेमा शंका गर्छन् ।

हुथी विद्रोही समूहले यमनको सम्पूर्ण रेड सी तटीय क्षेत्र कब्जा गरेको छ । उनीहरू शुक्रबार रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बाब अल–मन्देब जलमार्गसम्म पुगेका छन् । यससँगै समूहको तीव्र सैन्य अभियान जारी छ ।

बिहीबार हुथीहरूले मोखा बन्दरगाह सहर कब्जा गरेका थिए । यसले छिमेकी साउदी अरबको समर्थन पाएको यमनी सरकारलाई ठूलो धक्का पुगेको छ ।

विश्लेषकहरूले इरान समर्थित हुथी समूहको पछिल्लो विजयलाई अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध युद्ध घोषणा गरेयताकै क्षेत्रीय रूपमा सबैभन्दा महत्वपूर्ण घटनाका रूपमा व्याख्या गरेका छन् ।

यो घटनाक्रमले विशेषगरी साउदी अरब र उसको तेल निर्यातमा गम्भीर असर पार्न सक्ने देखिएको छ । यस वर्षको सुरुवातमा रेड सीमा साउदी झण्डा बोकेका पानीजहाजमाथि नाकाबन्दी घोषणा गरेका हुथीहरूले अब बाब अल–मन्देब जलमार्गमाथि अझ बलियो नियन्त्रण कायम गरेका छन् । विज्ञहरूका अनुसार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी भएपछि रियादले तेल निर्यातका लागि बाब अल–मन्देबमाथि झन् बढी निर्भर हुन थालेको छ ।

तर के हुथीहरूले रेड सीलाई नियन्त्रणमा लिन सक्छन्?

यमनमा के भइरहेको छ?

यमन सन् २०१४ देखि युद्धको अवस्थामा छ । त्यतिबेला हुथी विद्रोहीहरूले राजधानी सानासँगै बन्दरगाह सहर होडेडामाथि कब्जा जमाएका थिए र सरकारलाई सत्ता छाड्न बाध्य बनाएका थिए ।

इरानको समर्थनमा हुथीहरूले त्यसयता साउदी अरबको नेतृत्वमा रहेको खाडी राष्ट्रहरूको सैन्य गठबन्धनसँग लड्दै आएका छन् । उक्त गठबन्धनले एडेनमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको पक्षमा लडिरहेको छ ।

साउदी अरबले इरानको बढ्दो प्रभाव रोक्न र यमनी सरकारलाई पुनःस्थापित गर्न सन् २०१५ मा युद्धमा प्रवेश गरेको थियो ।

सन् २०२२ मा भएको संयुक्त राष्ट्रसंघको युद्धविरामले लडाइँ रोकिए पनि त्यसयता छिटफुट भिडन्त हुँदै आएका छन् । गत सातादेखि भने फेरि नयाँ चरणको युद्ध सुरु भएको छ । यो पछिल्ला केही वर्षयताकै सबैभन्दा तीव्र संघर्षमध्ये एक हो । हुथीहरूले रेड सीको तटीय क्षेत्र कब्जा गर्ने उद्देश्यले विभिन्न स्थानमा आक्रमण गरेपछि यमनी सरकारी सेनाले पनि जवाफी कारबाही गरेको छ ।

जुलाईमा अमेरिका–इजरायल र इरानबीच युद्ध चलिरहेका बेला हुथीहरूले साउदी अरबविरुद्ध पूर्ण समुद्री नाकाबन्दी घोषणा गरेका थिए । त्यसपछि उनीहरूले महत्वपूर्ण बाब अल–मन्देब जलडमरूमध्य हुँदै जाने साउदीसँग सम्बन्धित पानीजहाजमाथि आक्रमण गर्न थाले ।

संकुचित बाब अल–मन्देब जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो । यसले स्वेज नहर र रेड सीलाई एडेनको खाडीसँग जोड्छ । दैनिक विश्वव्यापी व्यापारको करिब १२ प्रतिशत यही मार्गबाट हुने गर्छ ।

इरानले होर्मुज जलडमरूमध्य बन्द गरेपछि यो मार्ग प्रयोग गर्ने पानीजहाजको संख्या झन् बढेको छ । युद्ध सुरु हुनुअघि विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति वार्षिक रूपमा होर्मुज जलडमरूमध्य हुँदै ओहोरदोहोर हुने गरेको थियो ।

हुथीहरूको पछिल्लो सफलताले साउदी अरबलाई के असर गर्छ?

विज्ञहरूले हुथीहरूले बाब अल–मन्देब करिडोरमाथि पूर्ण नियन्त्रण कायम गरेमा विश्वव्यापी ऊर्जा संकट थप गम्भीर बन्न सक्ने चेतावनी दिएका छन् । यसले तेलको मूल्य र आपूर्ति दुवैमा असर पार्न सक्छ ।

साउदी अरबका लागि यसले तेल निर्यातमा थप समस्या निम्त्याउन सक्छ ।

इरानले होर्मुज जलडमरूमध्यमा नाकाबन्दी लगाएपछि रियादले आफ्नो ‘इस्ट–वेस्ट क्रुड आयल पाइपलाइन’ को प्रयोग बढाएको छ । यो पाइपलाइन अब्काइक तेल क्षेत्रबाट विशाल अरब प्रायद्वीप पार गर्दै रेड सीस्थित पश्चिमी बन्दरगाह यान्बुसम्म पुग्छ । त्यसपछि खाडी क्षेत्रको सट्टा रेड सी हुँदै तेल निर्यात गर्न सकिन्छ ।

सन् १९८० को दशकदेखि सञ्चालनमा रहेको यो पाइपलाइन होर्मुज जलडमरूमध्यमा हुने अवरोधबाट जोगिन बनाइएको थियो । सन् २०१९ मा हुथीहरूले ड्रोन आक्रमण गरेपछि यो केही समय बन्द भएको थियो ।

फेब्रुअरीमा युद्ध सुरु भएयता साउदी अरबले पाइपलाइनलाई पूर्ण क्षमतामा सञ्चालन गरेको छ । अहिले यसबाट प्रतिदिन ७० लाख ब्यारेलसम्म तेल रेड सीको तटसम्म पुर्‍याउन सकिन्छ । युद्धअघि यसको क्षमता प्रतिदिन ५० लाख ब्यारेल थियो ।

यसको परिणामस्वरूप अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनुअघिको तुलनामा बाब अल–मन्देब हुँदै निर्यात हुने साउदी तेलको मात्रा २१ प्रतिशतले बढेको छ ।

यसको जवाफमा हुथीहरूले रेड सीमा साउदी तेल ट्यांकरलाई निशाना बनाउँदै आएका छन् । अब उनीहरूले यमनको सम्पूर्ण तट र बाब अल–मन्देबमाथि नियन्त्रण कायम गरेपछि साउदीको तेल निर्यातमा थप असर पर्न सक्छ ।

हुथीहरूले यसअघि नै साउदीका ऊर्जा पूर्वाधार र दक्षिणी सहरहरूलाई निशाना बनाइसकेका छन् । शुक्रबार सार्वजनिक भएका केही तस्बिरमा इस्ट–वेस्ट पाइपलाइनबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ । तर साउदी पक्षले पाइपलाइनमा आक्रमण भएको पुष्टि गरेको छैन ।

यसले इरानलाई के फाइदा हुन्छ?

विश्लेषकहरूका अनुसार हुथीहरू अमेरिका–इरान युद्धमा अर्को ठूलो मोर्चा खोल्न चाहन्छन् । यसले वासिङ्टनसँगको गतिरोधमा तेहरानलाई थप बलियो रणनीतिक विकल्प दिने उनीहरूको भनाइ छ ।

इरान र अमेरिकाले दुवैले होर्मुज जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आएका छन् । तर त्यहाँबाट हुने पानीजहाज आवागमन निकै घटेको तथ्यले इरानको प्रभाव बढी रहेको संकेत गर्ने पर्यवेक्षकहरू बताउँछन् ।

अब बाब अल–मन्देबमाथि हुथीहरूको नियन्त्रणले इरानको रणनीतिक स्थिति थप बलियो बनाउनेछ ।

अस्ट्रेलियन नेसनल युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक आलम सालेहले भने, “यसको अर्थ इरानले अब होर्मुज जलडमरूमध्य र त्यसको अतिरिक्त अर्को महत्वपूर्ण जलमार्गमाथि पनि नियन्त्रण राखेको जस्तो हो ।”

यसले वासिङ्टनमाथि दबाब पनि बढाउनेछ । इन्धन र खाद्यान्नको मूल्य बढिरहेका कारण युद्ध अमेरिकामा पहिल्यै अलोकप्रिय बनिरहेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा मतदाताले रिपब्लिकन पार्टीप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्न सक्ने अपेक्षा गरिएको छ । यसै साता राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मध्यावधि निर्वाचनअघि युद्ध अन्त्य हुने सम्भावना कम रहेको स्वीकार गरेका छन् ।

वासिङ्टनले हवाई आक्रमणसँगै आर्थिक दबाब बढाएर तेहरानलाई आफ्नो मागअनुसार झुकाउने रणनीति अपनाइरहेको छ । तर अवस्था आफ्नो पक्षमा बदल्न अमेरिकासँग समय कम हुँदै गएको प्राध्यापक सालेहले बताए ।

हुथीहरूको विजयले इरानको पक्षमा शक्ति सन्तुलनमा ठूलो परिवर्तन ल्याउनुका साथै चीन र रुसजस्ता अन्य शक्तिलाई मध्यपूर्वमा अमेरिकी सैन्य शक्ति कमजोर हुँदै गएको संकेत गरेको उनको भनाइ छ ।

“इरानले विश्वव्यापी तेल मूल्य र ऊर्जा सुरक्षाको कार्ड खेलेको छ । त्यसैले हुथीहरूले बाब अल–मन्देब नियन्त्रण गर्नु इरानका लागि निकै ठूलो फाइदा हो,” उनले भने ।

के हुथीहरूले रेड सीमाथिको नियन्त्रण कायम राख्न सक्छन्?

विश्लेषकहरूका अनुसार बिहीबार यमनी सरकारी सेनाको पराजय हुथीहरूलाई लगभग सहज रूपमा प्राप्त भएको थियो ।

यमनी सरकारी सेनामा अनुमानित ३ लाख सैनिक छन् भने हुथी लडाकुको संख्या करिब २ लाख ५० हजार रहेको बताइन्छ ।

तर यमनी सेनाभित्रको आन्तरिक विभाजन र साउदी अरबको बाह्य दबाबका कारण सरकारी पक्ष अत्यन्तै विभाजित अवस्थामा छ । यस्तो अवस्थामा तीव्र र परिस्थितिअनुसार रणनीति परिवर्तन गर्न सक्ने हुथीहरूसँग लड्न आवश्यक एकता सरकारी सेनामा देखिँदैन, विज्ञहरू बताउँछन् ।

दोहा इन्स्टिच्युट फर ग्राजुएट स्टडिजका प्राध्यापक मोहामद एल्मास्रीले हुथीहरूबारे भने, “यो करिब एक दशकअघि साउदीहरूले सामना गरेको शक्तिभन्दा धेरै विकसित लडाकु शक्ति हो ।”

पछिल्ला केही वर्षमा इरानबाट प्राप्त मिसाइल, ड्रोन र हवाई प्रतिरक्षा प्रणालीलगायतका हतियारले हुथीहरूलाई ठूलो सैन्य भण्डार निर्माण गर्न सहयोग गरेको उनले बताए ।

तर किङ्स कलेज लन्डनका एसोसिएट प्रोफेसर एन्ड्रियास क्रिगले अलजजिरासँग कुरा गर्दै हुथीहरूले तत्कालीन सैन्य विजय हासिल गरे पनि उनीहरू शासन सञ्चालनमा “निकै कमजोर” रहेको बताए । त्यसैले बाब अल–मन्देबमा लामो समय नाकाबन्दी कायम राख्न उनीहरूलाई कठिन हुने उनको भनाइ छ ।

उनका अनुसार हुथीहरूको सफलता उनीहरूलाई कम आँकिएका कारण नभई साउदी समर्थित गठबन्धनको क्षमतालाई बढी आँकिएका कारण सम्भव भएको हो ।

तर एएनयूका सालेहका अनुसार हुथीहरूले आफ्नो उद्देश्य पूरा गर्न बाब अल–मन्देब वा सम्पूर्ण रेड सीमाथि पूर्ण नियन्त्रण कायम गर्नैपर्ने आवश्यकता छैन ।

जलमार्ग असुरक्षित छ भन्ने संकेत मात्रै पर्याप्त हुने उनको भनाइ छ । त्यसले पानीजहाज कम्पनी र बीमा कम्पनीहरूलाई उक्त जलमार्गबाट जहाज सञ्चालन गर्नु जोखिमपूर्ण रहेको ठान्न बाध्य बनाउन सक्छ ।

अब मुख्य प्रश्न रियादले आफ्नो हवाई शक्तिको प्रयोग गरेर हुथीहरूलाई रोक्न सक्छ कि सक्दैन भन्ने हो ।

पछिल्लो २४ घण्टामा साउदी सेनाले मोखासहित हुथी नियन्त्रणमा रहेका क्षेत्रमा दर्जनौँ मिसाइल प्रहार गरेको छ । तर त्यसले हुथीहरूको अग्रगति रोक्न सकेको देखिएको छैन ।

साउदी अरब, पाकिस्तान र टर्कीबीच हालै भएको रक्षा सम्झौता तत्काल सक्रिय हुने सम्भावना कम रहेको विज्ञहरूको भनाइ छ । यी देशहरू इरानसँगको अमेरिका–इजरायल संघर्ष थप चर्काउन चाहँदैनन् ।

वासिङ्टनबाट पनि तत्काल सहयोगको सम्भावना कम देखिएको छ । अमेरिकी समाचार वेबसाइट एक्सियोसका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दुईपटक फोन गरी हुथीविरुद्ध अमेरिकी हवाई आक्रमण गर्न आग्रह गरेका थिए । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए ।