काठमाडौं । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गर्दै नेपाल २०२७ एसिया कपका लागि छनोट भएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट ओभलमा शनिबार भएको खेलमा नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो । कप्तानीमा सन्दीप लामिछानेको कमब्याकपछि नेपालले जितेको यो पहिलो प्रतियोगिता हो । यससँगै नेपाल दोस्रो पटक एसिया कपका लागि छनोट भएको छ । यसअघि, नेपाल पहिलो पटक सन् २०२३ मा एसिया कपका लागि छनोट भएको थियो ।
३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.२ ओभरमा रनमा अलआउट भयो । यूएईका लागि राहुल चोपडाले शतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन । १०५ बलमा खेलेका राहुल १०० रनमा नटआउट रहे । अर्धशतकीय पारी खेलेका सोहेब खानले ५२ रन बनाए । नेपालका लागि करण केसीले ३, ललित राजवंशीले २ तथा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, बसिर अहमद र गुल्शन कुमार झाले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले नेपालले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेले । एकदिवसीय फर्म्याटमा यो उनको दोस्रो शतक हो । उनले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रनको योगदान गरे ।
यस्तै, गुल्शन झाले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा ३ चौका ४ छक्का प्रहार गर्दै ५२ रन जोडे । ओपनर अर्जुन कुमालले ६३ बलमा ४३ रन बनाए । रोहितकुमार पौडेलले ४० र इशान पाण्डेले १३ रन जोडे ।
दीपेन्द्रसिंह ऐरी १८ र सन्दीप जोराले ७ रन र बासिर अहमदले १५ रन बनाए ।
यूएईका लागि अबरार अहमदले ४ विकेट, खुजैमा बिन तनवीरले २ विकेट तथा हैदर अलि र अदिब उस्मानीले १–१ विकेट लिए ।

प्रतिक्रिया