अस्ट्रेलियामा अब विदेशी विद्यार्थीले परिवार लैजान नपाउने

अस्ट्रेलियामा अब विदेशी विद्यार्थीले परिवार लैजान नपाउने


काठमाडौं । अस्ट्रेलियाले अध्ययनका लागि आउने विदेशी विद्यार्थीलाई अब आफ्ना पार्टनर र छोराछोरी साथमा ल्याउन नदिने भएको छ ।

उच्च आप्रवासनबारे बहस बढिरहेका बेला सरकारले कामदार छुट्टी (वर्किङ होलिडे) भिसासम्बन्धी नियमसमेत कडा बनाउने भएको गृह मामिलामन्त्री टोनी बर्कले बिहीबार बताएका छन् ।

सरकारको यो निर्णय दक्षिणपन्थी वन नेसन पार्टीले तीन वर्षमा अस्थायी आप्रवासीको संख्या ७ लाख ५० हजारले घटाउने प्रस्ताव अघि सारेको केही दिनपछि आएको हो । वन नेसनले यस्तो कदमले अस्ट्रेलियालीलाई ‘सास फेर्ने ठाउँ’ दिने दाबी गरेको छ ।

गृह मामिला मन्त्री बर्कले भने सरकारले वन नेसनको राजनीतिक दबाबका कारण यी परिवर्तन गर्न लागेको भन्ने दाबी अस्वीकार गरेका छन् ।

‘यो राजनीतिक वातावरणलाई सम्बोधन गर्न हालै गरिएको काम हो भनेर शंका गर्नु तथ्यगत रूपमा गलत हो,’ बर्कले पत्रकारहरूसँग भने ।

सरकारका नयाँ सुधारले सन् २०२८ सम्म अस्ट्रेलियाको वार्षिक खुद आप्रवासन घटेर करिब २ लाख २५ हजारमा आउने अपेक्षा गरिएको छ । अहिले यो संख्या करिब ३ लाख छ । कोरोना महामारीअघि पनि खुद आप्रवासन करिब यही स्तरमा थियो । पछिल्ला सर्वेक्षणमा जीवनयापनको लागत र आप्रवासन मतदाताका प्रमुख चिन्तामध्ये रहँदै आएका छन् ।

भिसाको अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहनेलाई नियन्त्रण गर्न सरकारले थप कडाइ गर्ने भएको छ । यसका लागि थप १०० जना अनुपालन अधिकारी नियुक्त गर्ने र मेलबर्नमा रहेको महामारीका बेला प्रयोग गरिएको क्वारेन्टिन केन्द्रलाई आप्रवासन हिरासतका लागि प्रयोग गर्ने सम्भावनाबारे अध्ययन गरिने बर्कले बताए ।

‘यदि अस्ट्रेलिया अस्थायी रूपमा आउन चाहनुहुन्छ भने अस्थायी भिसाका लागि आवेदन दिनुहोस् । स्थायी रूपमा आउन चाहनुहुन्छ भने स्थायी भिसाका लागि आवेदन दिनुहोस् । र, तपाईंसँग वैध भिसा छैन भने अस्ट्रेलिया छाड्नुपर्छ,’ उनले भने ।

नयाँ व्यवस्थाअनुसार वर्किङ होलिडे भिसा थप गर्न चाहने ब्याकप्याकरका लागि ‘बलट’ प्रणाली लागू गरिनेछ । सबै पर्यटक भिसामा ‘नो फर्दर स्टे’ प्रावधान राखिनेछ, जसले भिसा सकिएपछि पार्टनर भिसाजस्ता अर्को श्रेणीको भिसाका लागि आवेदन दिएर अस्ट्रेलियामै बसिरहन रोक लगाउनेछ ।

अन्तर्राष्ट्रिय विद्यार्थीले पनि आफ्नो शैक्षिक योग्यता तह माथि लैजाने अवस्थामा मात्र विद्यार्थी भिसा नवीकरण गर्न पाउनेछन् ।

यद्यपि, प्रशान्त क्षेत्रका केही देश र दक्षिणपूर्वी एसियाका केही देशका विद्यार्थीले भने आफ्ना पार्टनर र छोराछोरी ल्याउन पाउनेछन् । अधिकांश विद्यार्थी भिसामा भने दोस्रो आवेदक अर्थात् पार्टनर वा परिवारका सदस्यलाई समावेश गर्न नदिइने व्यवस्था गरिनेछ ।

हाल अन्तर्राष्ट्रिय विद्यार्थीका श्रीमान्, श्रीमती वा पार्टनरले अस्ट्रेलियामा काम गर्न पाउने व्यवस्था छ । उनीहरूले काम गर्न पाउने समय भने विद्यार्थीले अध्ययन गरिरहेको विषय तथा पाठ्यक्रमअनुसार फरक हुन्छ ।

सन् २०२५ जुनसम्मको एक वर्षमा अन्तर्राष्ट्रिय शिक्षाले अस्ट्रेलियाको अर्थतन्त्रमा ५३.६ अर्ब अस्ट्रेलियन डलर योगदान गरेको थियो । यो देशको चौथो ठूलो निर्यात क्षेत्र हो । ठूलो आर्थिक योगदानका बाबजुद विदेशी विद्यार्थी केन्द्र–वामपन्थी लेबर सरकारको आप्रवासन घटाउने प्रयासको प्रमुख केन्द्रमा पर्दै आएका छन् ।

पछिल्लो चार वर्षमा विद्यार्थी भिसाको आवेदन शुल्क झन्डै ३०० प्रतिशतले बढेर २ हजार ५०० अस्ट्रेलियन डलर पुगेको छ । स्नातक भिसाका आवेदकका लागि अंग्रेजी भाषाको योग्यता र न्यूनतम बचतसम्बन्धी मापदण्डसमेत कडा बनाइएको छ ।

प्रस्तावित नीतिगत परिवर्तनबारे युनिभर्सिटिज अस्ट्रेलियाका प्रमुख कार्यकारी लुक शेहीले सार्वजनिक प्रसारक एबीसीसँग भने, ‘यसले यो देशको ठूलो राष्ट्रिय सम्पत्ति बनेको अन्तर्राष्ट्रिय शिक्षाप्रतिको विश्वासलाई कमजोर बनाउँदैछ ।’

कोरोना महामारीका कारण झन्डै दुई वर्ष सीमा बन्द गरेपछि अस्ट्रेलियाले सन् २०२२ फेब्रुअरीमा सीमा पुनःखोलेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय विद्यार्थी, ब्याकप्याकर र अस्थायी कामदारका कारण आप्रवासन तीव्र रूपमा बढेको थियो ।

तर पछिल्ला दुई वर्षमा यो संख्या घटिरहेको छ । सन् २०२५ जुन ३० सम्मको एक वर्षमा अस्ट्रेलियाको खुद वैदेशिक आप्रवासन ३ लाख ६ हजार थियो । यसमा अन्तर्राष्ट्रिय विद्यार्थीको हिस्सा आधाभन्दा बढी थियो । सन् २०२३ मा भने खुद वैदेशिक आप्रवासन ५ लाख १८ हजारसम्म पुगेको थियो ।